काठमाडौं : काठमाडौंबाट पोखरा हुँदै बेनी जाँदै गरेको बस धादिङको गजुरीमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।
धादिङका जिल्ला प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार दुर्घटनामा ८ जनाको मृत्यु भएको हो। मृतकमध्ये २ जना महिला र ६ जना पुरूष छन्।
ज्यान गुमाएकामध्ये ४ जनाको सनाखत भएको छ । घाइते ८ जनाको उद्धार भएको छ। गजुरीको छहरानजिकैबाट त्रिशुलीमा बस खसेको हो। बसको आधा भाग पानीमा डुबेको अवस्थामा छ।
घाइतेहरूको उद्धार गरी, गजुरी स्वास्थ्य चौकी, गजुरी अस्पताल र राजमार्ग अस्पतालमा उपचार भइरहेको छ। गजुरी अस्पतालमा उचार सम्भव नभएका ५ जनालाई काठमाडौं पठाइएको प्रहरीले बताएको छ ।
साँधुरो र घुम्ती मोडमा ओभरटेक गर्ने क्रममा बस नदीमा खस्न गएको प्रहरीले अनुमान गरेको छ । प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार साँघुरो बाटोमा ओभरटेक गर्ने क्रममा अनियन्त्रित भएर त्रिशूलीमा खसेको अनुमान गरिएको छ ।


