विराटनगर : कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन् । ९३ सदस्यीय प्रदेशसभामा उनले ४७ मत पाएका छन् । उनको विपक्षमा ३० मत खसेको थियो । 


सभाध्यक्ष इस्राइल मन्सुरी आफैले समेत संविधानविपरीत मतदान गरेका थिए । जसको प्रतिपक्षी सांसदहरुले कडा विरोध जनाएका थिए । उनको मत विना नै पनि थापाले बहुसंख्यक सदस्यहरुको विश्वासको मत पाएका हुन् । 


सबैभन्दा जेठो सांसद सभाध्यक्ष बन्ने नियम छल्नको लागि नेकपा एमालेका केही सांसदहरुले विभिन्न कारण देखाउँदै संसदमा उपस्थित नहुने निवेदन दिएका थिए । उपसभामुख सिर्जना दनुवार आफैले बोलाएको सभाको बैठक छाडेर काठमाडौ पुगेकी थिइन् भने त्यहाँ शहीद गंगालाल हृदय केन्द्रमा भर्ना भएकी छन् ।


भदौ १ गते प्रदेशसभामा भदौ ३ गतेका लागि विश्वासको मत लिन सूची दर्ता गराएपनि उपसभामुख दनुवारले भदौ ४ गते सोमबारका लागि समय तोकेकी थिइन् ।


गत साउन १६ गते दोस्रोपटक मुख्यमन्त्री भएका थापाले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।