सुनसरी / इटहरी उपमहानगरपालिकाले खोला पैनी मिचेर बनाएका संरचना भत्काउन जारी गरेको ३५ दिने म्याद सकिएपछि उपमहानगरपालिकाले १५ दिने अर्को सुचना प्रकाशन गरेको छ ।
३५ दिनभित्र टेंग्रा खोला, खेति खोला र सुकुमारी पैनीको दुवै किनाराबाट ६–६ मिटर खाली गर्नु भनेपछि सो संरचना नभत्काए उपमहानगरपालिकाले भत्काएर लागेको खर्च तिराउने चेतावनी दिएको थियोे । तर त्यसबिचमा कसैले संरचना नभत्काएपछि उपमहानगरपालिकाले फेरी अर्को १५ दिने सुचना जारी गरेको छ ।
खोला, पैनी अझ साँघुरो बनाएर बनाइएका घर, भवनका कारण बाढी तथा डुबान हुने गरेको छ । व्यक्तिका साथै कतिपय संस्थाका भवनहरु खोला पैनी मिचेर बनाइएका छन् भने धेरै ठाउँमा पैनीमाथि स्ल्याब लगाएर हिड्ने बाटो बनाइएको छ ।
खोला पैनी मिचेका संरचना भत्काउने भनेर अघिल्लै पटक मेयर द्वारिकलाल चौधरीले अभियान थालेपनि सफल हुन सकेको थिएन । कोशी राजमार्ग विस्तारका क्रममा घर भत्काउन सफल भएकाले हौसिएका मेयर हेमकर्ण पौडेलले खोलाको अतिक्रमणसमेत हटाएरै छाड्ने बताएका छन् ।


