विराटनगर / विराटनगरको ग्रीनक्रस अस्पतालमा अविवाहित युवतीबाट जन्मिएको बच्चा गायब बनाइएको घटना सार्वजनिक भएको छ । प्रहरीका अनुसार विराटनगर महानगरपालिका ९ मा रहेको अस्पतालबाटै बच्चा गायब बनाइएको हो ।


२६ वर्षीया युवतीले सोही अस्पतालमा छोरी जन्माएकी थिइन् । प्रेमीसँगको शारीरिक सम्पर्कबाट गर्भवती भएकी युवतीलाई असार १३ गते दिउँसो अस्पतालमा भर्ना गरिएको थियो । भोलिपल्टै उनले छोरीलाई जन्म दिएकी हुन् ।


प्रहरीका अनुसार भोजपुरको हतुवागढी गाउँपालिका ४ घर भएका २७ वर्षीय गोविन्द राई र ती युवती २ वर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलेको छ । दुई जनाबीचको सम्बन्धबाट गर्भ बसेपछि गोविन्दले प्रेमिकालाई विराटनगर ल्याएको पाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।


सुरुमा ग्रीनक्रस अस्पतालनजिकै रहेको दिपेश मेडिकल क्लिनिकमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा। तपेश्वरलाल कर्णले गर्भवतीको परीक्षण गरेका थिए । लगत्तै युवतीलाई प्रसूतिका लागि अस्पताल भर्ना गराइएको थियो ।


प्रहरीका अनुसार वास्तविक परिचय लुकाएर अस्पताल भर्ना गरेको पाइएको छ । अस्पतालको रेकर्डमा गोविन्दको नाम मानबहादुर तामाङ र युवतीको फूलकुमारी तामाङ तथा ठेगाना सुनसरीको रामधुनी ११ उल्लेख छ ।


ब्यथा लाग्ने औषधि खुवाएर प्रसूति गराएपछि युवतीलाई अस्पतालले असार १४ गते दिउँसो डिस्चार्ज दिएको प्रहरीले जनाएको छ । अस्पतालले डिस्चार्ज दिएपछि आफूलाई प्रेमीले इटहरी लिएर गएको युवतीले बताएकी छन् ।


बच्चाबिनै आफूलाई इटहरी लगेको र त्यहाँ एउटा होटलमा राखेको उनले बताइन् । बच्चा अस्पतालमै छ भनेर उनलाई भनिएको थियो । दुई दिनपछि आफ्नो केही काम छ भन्दै युवक होटलबाट हिँडेका थिए । त्यसपछि फर्के नआएको युवतीले बताएकी छन् ।


होटलमै छाडेर हिँडेका गोविन्द नफर्किएर आफू सुनसरीको सोनापुर आएर बसेको उनको भनाइ छ । गोविन्दले छाडेर गएको खर्च सकिएकाले ८ दिनपछि आफूले होटल छाडेको र सोनापुरमा डेरा लिएर बसेको बताइन् । सकुशल छोरी जन्मिएको भनेर नर्सहरूले बताएको तर डिस्चार्ज गर्दा बच्चा नदिएको उनले बताएकी छन् । आँफूले जन्माएको बच्चा साथमा नरहेको भन्दै उनले अस्पतालबाटै गायब बनाइएको बताइन् ।


बिहे गर्ने प्रलोभन देखाएका गोविन्दले सुत्केरी अवस्थामा आफूलाई अलपत्र पारेर हिँडेको र अस्पतालसँगको मिलेमतोमा बच्चासमेत गायव बनाएको गुनासो उनको छ । होटलमा अलपत्र छाडेर गएका प्रेमी नफर्किएपछि उनी प्रहरीको शरणमा पुगेकी थिइन् ।


उपचारमा संलग्न चिकित्सक र प्रेमीविरुद्ध साउन ३२ गते बिहीबार जिल्ला प्रहरी कार्यालय मोरङमा किटानी जाहेरी दिइन् । प्रहरीले अन्दाजी ६८ वर्षीय डा. कर्ण र उनका प्रेमी (बच्चाको बाबु) भनिएका गोविन्दलाई पक्राउ गरेको छ ।


प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. कर्ण विराटनगरस्थित कोसी अस्पतालका पूर्वमेडिकल सुपरिटेन्डेन्ट (पूर्वमेसु) समेत हुन् । सरकारी सेवाबाट अवकाश पाएका उनले दिपेश मेडिकल नामक क्लिनिक चलाउँदै आएका थिए । उनी ग्रीनक्रस अस्पतालमा पनि काम गर्छन् ।


डीएसपी दाहालका अनुसार दुवै जनालाई शुक्रबार साँझ पक्राउ गरिएको हो । प्रहरीले पक्राउ गरेपछि उच्च रक्तचाप र मधुमेहको समस्या रहेको भन्दै उपचारका लागि डा. कर्ण कोसी अस्पतालमा भर्ना भएका छन् । प्रहरीकै निगरानीमा उनको उपचार भइरहेको छ ।

उनका अनुसार बच्चा कहाँ पुर्याइयो भन्ने खुल्न बाँकी छ । उनले भने, ‘जीवितै बच्चा जन्मिएको भन्ने कुरा आएकाले खोजी भइरहेको छ । थप अनुसन्धानपछि वास्तविकता खुल्छ ।’ उनले पक्राउ परेका चिकित्सक र गोविन्दविरुद्ध व्यक्ति बेपत्ता पारेको कसूरमा आइतबार अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिने जानकारी दिए ।

बच्चा गायब बनाएको आरोपमा प्रहरीले अन्दाजी ६८ वर्षीय डा. तपेश्वरलाल  कर्ण र बच्चाको बाबु भनिएका गोविन्द राईलाई पक्राउ गरेको छ ।