सुनसरी / आज श्रावण शुक्ल तृतियाको दिन, भगवान विष्णुको तेश्रो अवतार वराहको पूजा अर्चना गरी सुनसरीको बराहक्षेत्र वराह जयन्ती मनाइएको छ ।
विभिन्न पुराणहरुका अनुसार आजको दिन भगवान विष्णुले आफ्नो तेश्रो अवतारको रूपमा वराह अवतार लिएका थिए र हिरण्याक्ष दैत्यको वध गरेर उसको अत्याचारबाट लोकको उद्धार गरेका थिए ।
आजकै दिनलाई भगवान बिष्णुको जन्म जयन्तीको रुपमा पनि लिने गरिएको छ । वराह अर्थात बँदेल विष्णुपुराण लगायत विभिन्न धार्मिक ग्रन्थहरुले वराहलाई विष्णुको बँदेल रुपमा बयान गरेको पाइन्छ ।
मन्दिरमा गीता पाठ, बराह चरित्र पाठ, बराह भगवानको अर्चना गरेर विशेष पूजा गरेर भगवान बराहको जन्म उत्सव मनाइएको हो । प्रेमको प्रतीक समेत मानिने भगवान बराहको जन्म जयन्तीको दिन भगवान बराहको नाममा व्रत बस्ने, अर्चना गर्ने प्रचलन रहेको छ ।
प्राचीन पूर्वीय संस्कृति तथा परम्परा अनुसार वराहक्षेत्र धाममा रहेको बराह भगवान विष्णुका १० अवतार मध्ये तेस्रो अवतार हुन् । सत्य युगमा डुब्न लागेको पृथ्वीलाई भगवान् बराहले जंङ्गलि जनावरको रूप बँदेलको भेषमा रक्षा गरी संसारभरका प्राणीहरूको रक्षा गरी संसारलाई स्थायित्व दिएको शास्त्रमा उल्लेख रहेको छ ।सोही किंवदन्तीलाई आधार मानेर भगवान् वराह तथा वराहक्षेत्र धामलाई संसारको पहिलो धामको रूपमा व्याख्या गर्ने गरिएको छ ।
नेपालका ऐतिहासिक महत्त्व बोकेको क्षेत्र मध्ये वराहक्षेत्र धाम पनि एक हो । जहाँ १५ सय वर्ष अगाडिमा दैविक मूर्तिहरू रहेका छन्। सुनसरी जिल्लाको वराहक्षेत्र नगरपालिकामा रहेको सो क्षेत्र नेपाल र नेपालीहरूको सम्पत्तिको रूपमा रहेको वराहक्षेत्र संरक्षण मञ्चका सचिव राजु घिमिरेले बताए ।


