सुनसरी / सडक मानव उद्धारमा महत्वपुर्ण भुमिका निर्वाह गरी समाजमा बिशेष योगदान पुर्याएकाे भन्दै सुनसरीकाे इटहरी २ मा रहेको माया घर नेपाललाई नगद ५० हजार ५० रूपैया सहित पुरस्कार राशिले सम्मान गरिएकाे छ ।
मायाघर नेपालले ज्येष्ठ नागरिक, हिंसापीडित महिला, बालबालिका तथा आश्रयविहीन सडक मानवको उद्धार तथा सेवा कार्य गर्दै आएको छ । माया घर नेपाललाइ होमबहादुर–प्रेमकुमारी श्रेष्ठ मातृभूमि पहिचान सम्मान–२०८०’ बाट नगद सहित सम्मान गरिएकाे हाे । होमबहादुर–प्रेमकुमारी श्रेष्ठ मातृभूमि पहिचान ट्रस्टले माया घर नेपालले गरेकाे कामकाे उच्च मुल्याङकन सहित सम्मान गरिएकाे हाे ।
संघीय संसद प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगर, ट्रस्टका अध्यक्ष तथा सीमाविद् बुद्धिनारायण श्रेष्ठ, राष्ट्रगानका रचयिता व्याकुल माइलाले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सम्मान प्रदान गरेका हुन ।
बेलायतमा बस्दै आएका ट्रस्टका संरक्षक शिवजी श्रेष्ठले ८४ वर्ष पार गरेका आफ्ना बुवा होमबहादुर श्रेष्ठ र आमा प्रेमकुमारी श्रेष्ठको नाममा छ छोरा र चार छोरीले संस्था गठन गरी मातृभूमिको सेवामा समर्पित व्यक्ति–व्यक्तित्व र संघ–संस्थालाई प्रोत्साहन गर्दै सम्मान गर्दै आएको छ ।
सम्मान ग्रहण गर्दै मायाघर नेपालकी अध्यक्ष सुभद्रा प्याकुरेलले २०७४ सालदेखि सुरु गरेको संस्थामा हाल १ सय ४३ जना ज्येष्ठ नागरिक, हिंसापीडित महिला, सडक मानवको उद्धार तथा संरक्षण गर्दै आएको बताउनु भएको हो ।


