इटहरी। गुरुङ साहित्यिक मञ्चको छैटौँ स्थापना दिवसको अवसरमा चैत २१ गते (मङ्गलवार) इटहरीमा विभिन्न कार्यक्रमहरू हुने भएका छन् ।

इटहरीको दुर्गा पार्टी प्यालेसमा विभिन्न कार्यक्रमहरू तय भएका छन् । कार्यक्रम संयोजक मिश्रा माया गुरुङका अनुसार पहिलो सेसनमा ‘भाषा संरक्षणमा हाम्रो दायित्व र चुनौती’को विमर्श हुनेछ भने दोस्रो सेसनमा ‘साहित्यमा गुरुङ स्रष्टाको उपस्थिति’ बारेमा विमर्श हुनेछ ।

संस्था चिनारी वृत्तचित्र, सदस्यता प्रमाणपत्र वितरण, खुल्ला रचना वाचन, स्रष्टा सम्मान र पुस्तक विक्री समेतका कार्यक्रमहरू तय गरिएका छन् ।नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा दर्जन बढी सर्जकहरूले कविता वाचन गर्नेछन् भने नेपालका चर्चित कवि मनु मन्जिलले कविताहरूमा टिप्पणी गर्ने गुरुङ साहित्यिक मञ्चले जानकारी दिएको छ ।

       ‘यो गुरुङ साहित्यिक मञ्चको कार्यक्रम भएपनि यो गुरुङ समुदायको मात्रै कार्यक्रम होइन’, इटहरी सामाजिक अभियानकर्मी तथा कार्यक्रमका सहयोगी दिव्यराज गुरुङ भन्छन्, ‘यो रचना वाचन देखी विमर्शको साझा मन्च हो । यसले इटहरीलाई पूर्वको साहित्यको मुकाम बनाउन थप सहयोग पुर्‍याउनेछ ।’