विराटनगर । कोशी प्रदेश नामांकन खारेजीको मागसहित चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा सशस्त्र प्रहरीको लाठी प्रहारबाट घाइते भएका धरान–१५ का पदम लिम्बू लागेहाङको मृत्यु भएको छ । उनको उपचारका क्रममा मृत्यु भएको हो ।  

टाउकोमा चोट लागेका उनी मंगलवार राति अचानक बेहोस भएपछि उपचारार्थ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो। लिम्बुको बिहीवार राति २ बजे उपचारको क्रममा मृत्यु भएको पदमका भाइ समेत रहेका बेलबारी नगरपालिका–२ का वडा सदस्य दिपेन्द्र खजुम लिम्बुले बताए । 

        विराटनगरको प्रदर्शनमा सशस्त्र प्रहरीले आन्दोलनकारीमाथि निषेधित क्षेत्रनजिक अश्रुग्यास प्रहार गरेको थियो । लगत्तै हवाई फायर गरेको प्रहरीसँग दोहोरो भिडन्तका बेला लाठीचार्जमा घाइते लिम्बूको टाउकोमा गम्भीर चोट परेको मृतकका आफन्तले बताएका छन् ।  

एक्कासि बान्ता गरेर बेहोस भएपछि उनलाई मंगलवार अस्पताल लगिएको थियो । 

उनी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवान भोलेन्टियरका केन्द्रीय सहकमाण्डर हुन् । मञ्च प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिको एक प्रमुख घटक हो ।