धरान । प्रतिष्ठानको इन्टर्नल मेडिसिन विभागद्वारा विरामीहरुको उपचारका लागि दिंदै आएको विशिष्ट सेवाहरुमा थप विस्तार गरिएको छ । विभागले २०७९, फाल्गुण १ गते देखि हप्ताको हरेक बिहिबार बिहान १०ः०० बजे देखि १ः०० बजेसम्म सञ्चालन हुने गरी Geriatric Clinic (Frailty/Multi-Morbidity Clinic) को थप सेवा शुरु गरेको छ ।
यस किसिमकोFrailty/Multi-Morbidity Clinic नेपालमा नै पहिलो पटक प्रतिष्ठानमा शुरु भएको हो । उक्त क्लिनिक ज्येष्ठ नागरिकहरुलाई उमेरका कारणले हुने आन्तरिक कमजोरी (Frailty) का साथै शारिरीक तथा मानसिक समस्याहरु जस्तै निन्द्रा नलाग्ने, खाना नरुच्ने, थकान महशुस हुने आदि तथा दुई वा सो भन्दा बढि रोगहरु (Multi-Morbidity) भएका हरुको उपचार गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको हो ।
त्यस्ता किसिमको स्वास्थ्य समस्या देखा परी ओ.पी.डी. मा जचाउन आउदा ज्येष्ठ नागरिकहरुले लामो समय पालो कुर्नु नपरोस् र भीडका कारणले सास्ती खेप्नु नपरोस् भन्ने मनसायले छुट्टै क्लिनिक सञ्चालनमा ल्याइएको हो । यस किसिमको सेवाहरुबाट ज्येष्ठ नागरिक मैत्री स्वास्थ्य प्रणालीको विकासलाई सहयोग पुग्ने विश्वास लिइएको छ ।
उक्त क्लिनिकमा डा.उर्जा भट्टराईले विशेषज्ञ चिकित्सकको रुपमा सेवा दिनु हुनेछ । वहाले भारतको नया दिल्ली स्थित All India Institute of Health Sciences (AIIMS) बाट Geriatric Medicine विषयमा स्नाकोत्तर गर्नु भएको हो । वहा Geriatric Medicine विषयको नेपालमै पहिलो महिला चिकित्सक हुनुहुन्छ । एउटै बिरामीलाई लामो समय लगाएर चेक जा“च गर्नुपर्ने भएको हुदा अहिलेको शुरुवाती चरणमा एक पटकमा १५ जना बिरामीहरुलाई मात्र सेवा प्रदान गर्ने योजना रहेको छ ।
यसका साथै विभागले गर्भवती महिलाहरुमा देखापर्ने मधुमेह र थायराईडको असन्तुलन जस्ता स्वास्थ्य समस्याहरुको उपचारका लागि Pregnancy & Diabetes and Thyroid Clinic (गर्भवती तथा मधुमेह र थायराईड क्लिनिक) को पनि शुरुवात गरेको छ । २०७९, फाल्गुण १ गते देखि लागू हुने गरी हप्ताको हरेक बुधबार देखि सञ्चालनमा आएको क्लिनिकको विशेषज्ञ चिकित्सक डा.रबिन मास्के हुनुहुन्छ ।


