इटहरी । स्वर्णिम साहित्य समाजले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८ औँ जन्मजयन्ती मनाएको छ।
बराहक्षेत्र ३ र ५ को सङ्गमस्थलमा आयोजित कार्यक्रममा महाकवि देवकोटाको शालिकमा माल्यार्पण गर्नुका साथै राष्ट्रिय झण्डा समेत फहराइएको थियो। संस्थाका अध्यक्ष शरण कुमार लिम्बूको अध्यक्षता तथा प्राज्ञ विवश पोखरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। संस्थाका उपाध्यक्ष लक्ष्मण कटुवालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा कवि अभागी थेगुवाको कविताकृति ‘सपनाहरूको बही’ माथि अन्तरसंवाद गरिएको थियो।
कृतिमाथि कविहरू विवश बलिभद्र कोइराला र चन्द्र गुरुङले समीक्षात्मक चर्चा गर्नुभएको थियो भने सहजीकरण कवि दीपा मग्रातीले गर्नुभएको थियो । त्यस अवसरमा कविहरू प्रह्लाद पहरेदार, छविना लुङ्गेली मगर र रिदम खतिवडाले महाकवि देवकोटासँग सम्बन्धित रचना वाचन गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ पोखरेलले साहित्यले सबैको मन जोड्ने र कुनै किसिमको भेदभाव नगर्ने बताउनुभयो ।
शैक्षिक व्यक्तित्व सुरेन्द्र पराजुली, राधाकृष्ण शिव मन्दिरका अध्यक्ष माधवप्रसाद पोखरेल र बराहक्षेत्र–५ का वडाध्यक्ष रोहित काफ्लेले शुभकामना मन्तव्य राख्नुभएको थियो । साहित्यिक, शैक्षिक, राजनीतिक क्षेत्रका व्यक्तित्व तथा सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रमको सञ्चालन संस्थाकी सचिव सविता फागोले गर्नुभएको थियो ।


