सप्तरी । राजविराज नगरपालिकाको स्वास्थ्य शाखाले नगरवासीलाई म्याद सकिएको कोरोनाको खोप लगाउदै आएको जानकारी प्राप्त भएको छ । राजविराज नगरपालिका–८ को एक विद्यालयमा सयौ विद्यार्थीलाई त्यस्तो खोप लगाएको हो ।
भ्याक्सिन लगाउने भनेर राजविराज नगरपालिका–८ स्वास्थ्य शाखाकी स्वास्थ्यकर्मी कल्पना रामसहित खटिएको टोलीले लगाउन ल्याएको खोप विद्यालयकै प्रधानाध्यापकले चेक गरेपछि सबै भ्याक्सिनको म्याद गुज्रेको पाइएको हो । म्याद गुज्रेको भ्याक्सिनबारे जानकारी भएपछि विद्यालयले खोप लगाउनबाट विद्यार्थीलाई रोकेको थियो ।
वर्षदिन यता कोरोनाको प्रकोप कम भएसँगै नगरपालिकाले ल्याएको खोप अभियान सेलाएसँगै स्टक राखिदैआएको नगरपालिकाका एक कर्मचारीले बताए । राजविराज नगरपालिकाको स्वास्थ्य शाखा संयोजक निरञ्जन यादवका अनुसार भ्याक्सिनको म्याद सकिएको सत्य हो । विभागले नै तीन महिनासम्म त्यही भ्याक्सिन प्रयोग गर्न लिखित परिपत्र गरेपछि आफूहरु सो खोप प्रयोग गर्न बाध्य भएको उनको भनाइ छ ।
राजविराज नगरपालिकाले यसअघि सञ्चालन गरेको कोरोना खोप अभियानको दौरान एउटा कलेजमा जमेको भ्यासिन लगाएपछि विधार्थीहरु विरामी परेर थप उपचार गर्नुपरेको थियो ।
खोपको म्याद गुज्रिएको भन्ने आफूलाई कर्मचारीहरुले जानकारी नदिएको राजविराज नगरपालिका कार्यवाहक नगरप्रमुख इसरत परविनले बताए ।


