दुहवी । सुनसरी ३ का मतदातालाई आगामि मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा मतदान गर्नुभन्दा पनि मतदान गरेर बाकसमा हुने मतको सुरक्षाकै बढी चिन्ता देखिन्छ। सो क्षेत्रमा नेपाली कांग्रेसबाट विजयकुमार गच्छदार र नेकपा एमालेबाट भगवती चौधरी चुनावी प्रतिष्पर्घामा छन । उनीहरुबीचको यो तेस्रो प्रतिष्पर्घा हो ।

यसअघि दुई पटक भएको चुनावी प्रतिष्पर्घामा गच्छदार थोरै मतान्तरले विजयी भएका थिए । त्यसबेला मतगणनको क्रममा धाँधली भएको भन्दै त्यसबिरुद्ध मुद्दा परेको थियो । जुन मुद्दा अहिलेसम्म पनि अन्तिम किनारा लाग्न सकेको छैन ।

गढी गाउँपालिकाकी अनिता चौधरी आफूहरुले भगवती चौधरीलाई आफ्नो प्रतिनिधि निर्वाचित गर्ने गरी मत दिएर पठाएपनि मतगणनामा आफूहरुको मतलाई जबरजस्ती बदर गराएर विजय गच्छदारलाई निर्वाचन आयोगले नै चुनाव जिताएर पठाएको भन्दै यसपटक पनि त्यस्तै हुने आशंका ब्यक्त गरिन ।

उनी मात्रै होईन, दुहवी नगरपालिकाका रेसम खवासलाई पनि मंसिर ४ मा हुने मतदानभन्दा त्यसपछि हुने मतगणनालाई लिएर बढी चिन्ता देखिन्छ । उनी भन्छन, ‘के गर्नु हामीले मत दिएर पठाएकै हौ नि, गणना गर्ने बेलामा हामीले हालेको मत कहाँ जान्छ थाहै हुँदैन ।’

खवासको सुनसरी ३ का जनताले दुई पटक नै भगवती चौधरीको पक्षमा ठूलो मतान्तरले जित हुने गरी मत दिएर पठाएपनि गणनाको क्रममा धाँधली भएको आरोप थियो ।तनमुनाकी घुनिया उराँव भन्छिन, ‘भगवती दिदिलाई हामीले दुई पटक मत दिएर पठाईसक्यौ तर दुबै पटक उहाँलाई चुनाव हराईयो । यसपटक पनि भोट त दिएर पठाउछौ तर फेरि के हुने हो डर लागिरहेको छ ।’

इटहरीका केशव तिम्सिना यसपटक पनि सुनसरी ३ का मतदाताले चौधरीको पक्षमा अत्याधिक मतदान गर्ने दावी गर्दै मतदानपछि मत सुरक्षाको विषयमा विशेष रुपमा सचेत रहनु पर्ने आवश्यकता औल्याए।मतदातामा देखिएको यो चिन्ता स्वयम उम्मेदवार भगवती चौधरीमा पनि देखिन्छ । उनले धेरै चुनावी सभाहरुलाई संवोधन गर्दै मत सुरक्षाको विषयमा आशंका ब्यक्त गर्दै आएकी छिन ।

उनले दुई पटकको निर्वाचनमा मतदाताले आफूलाई निर्वाचित हुने गरी मतदान गरेपनि मतगणनको क्रममा गडबड गरेर हराईएको दावी गर्दै आएकी छिन । यसपटक यस विषयमा अलि बढी सचेत र संबेदनशिल देखिएकी चौधरीले मतको सुरक्षको लागि आफू जस्तो सुकै मुल्य चुकाउन तयार रहेकोले कार्यकता, समर्थक र सुभचिन्तकहरुसँग पनि सचेत रहन आग्रह गर्दै आएकी छिन । फेरि पनि मत पाएर हार्नु पर्ने मतदाताको आशंकामा उनी यसपटक त्यस्तो हुन नदिने आश्वासन मतदाताहरुलाई दिईरहेकी छिन ।