इटहरी । बैदेशिक रोजगारीका लागि पलाउ पठाउने भन्दै १२ जनालाई ८४ लाख ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । युएस पलाउ जव सर्भिस नामक कम्पनीका सञ्चालक सुनसरीको इनरुवा नगरपालिका– ३ का ३४ वर्षीय राजिवजङ्ग थापा पक्राउ परेका हुन् ।
उनले बैदेशिक रोजगारको लागि पलाउ नाम गरेको मुलुक पठाउने भन्दै १२ जना सर्वसाधारणबाट २०७३ सालमा नै जनही ७ लाख रुपैयाँ उठाएका थिए । ८४ लाख रुपैयाँ उठाएर फरार भएका थापालाई पक्राउ गरेको सुनसरी प्रहरीले बताएको छ ।
बैदेशिक रोजगार न्यायधिकरण काठमाडौंले २०७६ असार ८ गते उनलाई १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार जरिवानाको फैसला भएको थियो । बिगो बापत १ करोड २६ लाख भराउने फैसला भएको थियो ।
फरार रहेका उनलाई इनरुवा नगरपालिका स्थित गाँउबाट कात्तिक १५ गते पक्राउ गरेको प्रहरीले बताएको छ । थापालाई सजाय भुक्तानका लागि झुम्का कारागार पठाइएको प्रहरीले बताएको छ ।


