इटहरी । बडा दशैंको तेस्रो दिन आज चन्द्रघण्टा भगवतीको पूजा अर्चना हुँदै छ।दशैं घर र विभिन्न शक्तिपीठहरुमा चन्द्रघण्टाको पूजा आराधना गरिँदै छ । चन्द्रघण्टा देवीको शीरमा घण्टा आकारको अर्धचन्द्र हुने भएकाले देवीलाई चन्द्रघण्टा भनिएको विश्वास गरिन्छ । बाघलाई वाहन बनाई १० हातमा खड्ग, बाण, त्रिशूल आदि अस्त्रशस्त्रले सुसज्जित देवी चन्द्रघण्टाको स्वरुप शान्तिदायक र काल्याणकारी रहेको छ ।

असत्यको नाश र सत्यको रक्षाको लागि देवीले चन्द्रघण्टाको रुप धारण गरेकी हुन्। घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्नुपर्ने धार्मिक व्यवस्था रहेको छ। नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा अर्चना र उपासना गर्ने गरिन्छ।