काठमाडाैं । राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले नेपाल फर्किएर आफूमाथिको झुटो उजुरी डटेर प्रतिवाद गर्ने बताएका छन् । उनले आफूविरुद्ध वारेन्ट जारी भएको समाचार र जाहेरी सार्वजनिक हुनुले मानसिक रूपमा विछिप्त बनाएको, चिकित्सकको सल्लाहमा आइसोलेसनमा उपचारमा रहेको पनि जनाएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्– ‘झुट्टा जाहेरीकै भरमा अपराधीको चित्रणले मलाई मानसिक र शाररीक रूपमा प्रभावित भइ असन्तुलित अवस्थामा पुगी डाक्टरहरूको सरसल्लाहमा आफूलाई सामान्य अवस्थामा ल्याउँदै आएको छु र मेरो स्वास्थ्यमा क्रमिक सुधार आउँदै छ र जतिसक्दो चाँडो नेपाल फर्किएर मविरुद्धको झुट्टा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तर्खरमा छु ।’
उनले आफू एउटा इमानदार क्रिकेट खेलाडी भएपनि गम्भीर षडयन्त्रको शिकार भएको उल्लेख गरेका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘मेरो अनुपस्थितिमा मलाई अपराधी सावित गराउने झुट्टा–झुट्टा जाहेरी प्रपञ्चको मैले कानुनी लडाइँ लड्ने छु । मैले बुझेसम्म नेपालको संविधानले कसुर प्रमाणित नभएसम्म कसुरदार नमानिने व्यवस्था गरेको छ । साथै, संविधानले सम्मानपूर्वक बाँच्न पाउने, यातनाविरुद्धाको हक, गोपनीयताको हक, स्वास्थ्यसम्बन्धीको हक र मेरो कानुन व्यवसायीसँग कानुनी परामर्श गर्न पाउने हकसमेत रहेको बुझेको छु ।’
लामिछानेविरुद्ध एक बालिकाले जबर्जस्ती करणीको आरोपमा प्रहरीमा जाहेरी दिएकी छिन् । लामिछाने भने अहिले देशबाहिर छन् ।
उनले सामाजिक सञ्जालमा यसरी लेखेका छन्–
‘१६ वर्षको उमेरमा राष्ट्रिय क्रिकेट टिममा समावेश हुन पाउनु मेरो सौभाग्य हो । त्यो मेरो थोरै मेहनत, परिश्रमले आर्जन गर्न सकिने कुरा थिएन । सकारात्मक सोच, अथक मेहनत र आफूलाई सुधार्न गरिएको निरन्तर प्रयासका साथै मलाई साथ सहयोग गर्नु हुने मेरा परिवार, साथिभाइ र अग्रजहरूलगायत मेरो पूरै क्रिकेट टिमको साथ, सहयोग र आशीर्वादले म आजको अवस्थासम्म पुग्न सकेको हुँ । म सदैव विश्व क्रिकेट जगतमा नेपालको नाम उच्च राख्ने प्रोरणाले अघि बढेको छु । मैले आफ्नो मेहनतले नेपालको नाम चिनाउन पाउँदा गौरवान्वित महसुस गर्दछु ।
मविरुद्ध भदौ २१ गते परेको जाहेरी मैले भदौ २२ गते थाहा पाएँ । मविरुद्ध परेको झुट्टा जाहेरीको विषयमा विद्युतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा एकलौटी तरिकाले, सत्य तथ्य नबुझी झुट्टा जाहेरीमात्रको आधारमा मेरो चरित्रमा गम्भीर आँच आउनेगरी समाचारहरू आए । मेरो नाउँमा वारेन्ट जारी भएको समाचार र मविरुद्ध परेको जाहेरी सार्वजनिक हुनुले मलाई मानसिक रूपमा विछिप्त बनायो, के गर्ने, के नगर्ने भन्ने सोच्न सक्ने अवस्था मेरो रहेन ।
यी सब कुराले मलाई एकातिर मानसिक असर गरेको छ भने अर्कातिर म बिरामी अवस्थाबाट गुज्रिन परेको र मानसिक तनाव र स्वास्थ्य खराबीको कारणले मैले मलाई आइसोलेनमा राखेर बसेको छु । झुट्टा जाहेरीकै भरमा अपराधीको चित्रणले मलाई मानसिक र शारीरिक रूपमा प्रभावित भइ असन्तुलित अवस्थामा पुगी डाक्टरहरूको सरसल्लाहमा आफूलाई सामान्य अवस्थामा ल्याउँदै आएको छु र मेरो स्वास्थ्यमा क्रमिक सुधार आउँदै छ र जतिसक्दो चाँडो नेपाल फर्किएर मविरुद्धको झुट्टा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तर्खरमा छु ।
क्रिकेटप्रति सानैदेखि जुनुन भएको म एउटा सामान्य परिवारको मानिस हुँ । मेरो लागि जीवनमा क्रिकेट र मेरो देशमात्रै प्राथमिकतामा रहे । मलाई लाग्छ, नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउन मेरो पनि भूमिका रहेको छ, चाहे त्यो खेलाडीको रूपमा होस् वा चाहे कप्तानको रूपमा । राष्ट्रको लागि दिलोज्यानले खेलिरहेको म एउटा इमान्दार क्रिकेट खेलाडी आज एउटा गम्भीर षड्यन्त्रको शिकार भएको महसुस भएको छ ।
मेरो अनुपस्थितिमा मलाई अपराधी सावित गराउने झुट्टा झुट्टा जाहेरी प्रपञ्चहरूको मैले कानुनी लडाइँ लड्ने छु । मैले बुझेसम्म नेपालको संविधानले कसुर प्रमाणित नभएसम्म कसुरदार नमानिने व्यवस्था गरेको छ साथै संविधानले सम्मानपूर्वक बाँच्न पाउने, यातनाविरुद्धको हक, गोपनीयताको हक, स्वास्थ्यसम्बन्धीको हक र मेरो कानुन व्यवसायीसँग कानुनी परामर्श गर्न पाउने हकसमेत रहेको बुझेको छु ।
म र नेपाली क्रिकेटप्रति सद्भाव राख्ने आदरणीय बुबा, आमा, दाजु, भाइ, मित्रहरू र क्रिकेटप्रेमीहरू, मेरा समर्थकहरूप्रति आभार व्यक्त गर्दछु र म वा मविरुद्ध अफवाह फैलाउने समाचारहरू सम्प्रेषण नगरिदिन हुन सम्पूर्णमा विनम्र अनुरोध गर्दछु ।’


