इटहरी । धरानमा हिजोसम्म तेस्रो स्थानमा रहेको नेकपा एमालेले क्रमिक रुपमा मतान्तर सुधार गरिरहेको छ ।
आइतबार (हिजो राति) १० बजे सर्वजनिक मतपरिणाम अनुसार धरानको मेयरमा नेपाली काँग्रेसका किशोर राई पहिला, स्वतन्त्र उम्मेदवार हर्क साङपाङ दोस्रो र एमालेकी मञ्जु भण्डारी सुवेदी तेस्रो स्थानमा थिइन् ।
तर, सोमबार (आज) विहान ८बजे प्राप्त अद्यावधिक अनुसार धरानको मेयरमा एमाले दोस्रो स्थानमा उक्लिएको छ । निर्वाचन अधिकृतको कार्यालय धरानले दिएको जानकारी अनुसार धरानको मेयरमा काँग्रेसका राईले ३३२२ मत ल्याएर अग्रतालाई कायमै राखेका छन् ।
धरानको मेयरमा एमालेकी भण्डारीको २५०३ मत रहेको छ । स्वतन्त्र उम्मेदवार साङपाङको २२९५ मत रहेको छ । हिजो रातिको मतपरिणाम अनुसार धरानमा काँग्रेका २५२६ मतका साथ पहिलो, स्वतन्त्र उम्मेदवार साङपाङ १७२९ मतका साथ दोस्रो र एमालेकी भण्डारी १५८४ मतका साथ तेस्रो स्थानमा रहेकाकी थिइन् ।
उपमेयरमा मतगणना प्रारम्भ भएदेखि नै दोस्रो स्थानमा रहेको एमाले हिजाको भन्दा आज मतान्तर घटाएको छ । आज विहान ८ बजेको अद्यावधिक अनुसार नेकपा (माओवादी केन्द्र) पहिलो नम्बरमा रहेका छ ।
माओवादीबाट उपमेयर पदका उम्मेदवार आईन्द्र विक्रम बेघाले ३५९१ मत ल्याएका अग्रता कायम राखेका छन् । उनलाई एमालेका पदम इस्बो लिम्बुले ३००० मत ल्याएर पछ्याइरहेका छन् ।
हिजो रातिको अद्यावधिक अनुसार माओवादीका बेघाको २६८३ मत थियो भने एमालेका लिम्बुको १९५० मत थियो । अहिलेसम्म धरानको १० हजार १४८ मतगणना सकिएको छ । पछिल्लो अपडेट अनुसार धरानको वडा नम्बर १, २, ३ र ४ को अन्तिम मतपरिणाम आइसकेको छ । वडा नम्बर १ र ३ मा काँग्रेस तथा वडा नम्बर २ र ४ मा एमाले विजयी भएको छ ।


