इटहरी । मोरङको बेलबारीबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बेलबारी नगरपालिका–२ लालभित्तीस्थित कबिर टोलका ३० वर्षीय भोजबहादुर राई रहेका छन् । इलाका प्रहरी कार्यालय बेलबारीमा राईको घरको कोठामा लागुऔषध लुकाएर राखेको सूचना प्राप्त भएपछि प्रहरी निरीक्षक राजीव गिरीको नेतृत्वमा खटिएको टोलीले आइतबार राति करिब ९ः५० बजे उनको घरमा खानतलासी गरेको थियो ।
खानतलासीका क्रममा प्लास्टिकबाहेक १८ ग्राम २४० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थ र पाँच हजार रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ । बरामद पदार्थसहित राईलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


