विराटनगर । प्रदेश १ की प्रदेशसभा सदस्य सावित्राकुमारी रेग्मीले मतदान गर्न पाइनन् । निर्वाचन आयोगले उनको नामावली सुन्दरहरैचा नगरपालिकामा सारिदिएपछि उनले भोट हाल्न नपाएकी हुन् ।
२०४५ सालदेखि विराटनगर बस्दै आएकी उनले यसअघिका निर्वाचनमा पूर्वाञ्चल विश्वविद्यालयको विराटनगर ३ स्थित पुसेट कलेज मतदान केन्द्रबाट मतदान गर्दै आएकी थिइन् । तर यो पटक मतदान गर्न नपाएको उनले बताइन् ।वर्षौदेखि यहीबाट भोट हालेको, हिजो हेर्दा नाम भेटिन’ उनले भनिन्,‘ निर्वाचन आयोगले सुन्दरहरैचा नगरपालिका–९ मा सारिदिएको रहेछ ।’
उनले आयोगको लापरबाहीका कारण मतदान गर्न नपाएको उनको भनाइ छ । ‘सुन्दरहरैचामा न माइती न मावली’ उनले भनिन्,‘आयोगले लापरबाही गरेपछि जान सकिनँ, सच्याउन आग्रह गर्दा पनि भएन ।’रेग्मी विराटनगरकी स्थायी बासिन्दा हुन् । उनी तत्कालीन नेकपा एमालेबाट समानुपातिक सांसद बनेकी थिइन् । हाल नेकपा (एकीकृत समाजवादी) पार्टीमा छन् ।


