विराटचोकः निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मतदान गरेको फोटो खिच्न दिएको आरोपमा सो मतदान स्थलका अधिकृतलाई पनि स्पष्टीकरण सोधेको छ ।
गोरखाको पालुङटार नगरपालिकास्थित अन्नपूर्ण मावि खोप्लाङका मतदान अधिकृत प्रदीपकुमार रुपाखेतीलाई स्पष्टीकरण सोधिएको हो ।
‘भट्टराईले फोटो लिने सामग्री (मोबाइल वा क्यामेरा) लैजाँदा के कति कारणले सम्बन्धित मतदान अधिकृतले फोटो लिने सामग्री लानबाट रोक्नु भएन ?’ स्पष्टीकरणपत्रमा भनिएको छ । मतदान अधिकृतलाई झुक्याएर फोटो खिच्ने सामग्री लगेर मतपत्रमा गोप्य मत संकेतको फोटो खिचेको भए किन निजलाई तत्काल कारवाही भएन भनेर आयोगले साँचो विवरण तुरुन्तै पठाउन अनुरोध गरेको छ ।
डाक्टर भट्टराईले मतदान गरेको मतपत्रको फोटो सार्वजनिक गरेका थिए । यसबारेमा आयोगले भट्टराईलाई स्पष्टीकरण सोधिसकेको छ । भट्टराईले मत दिँदै गर्दा फोटो खिचिएकाले सो फोटो डा. भट्टराईले नभई अर्कै व्यक्तिले खिचेको देखिन्छ ।


