आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरेर सरकारले तयार पारेको एकीकृत सुरक्षा योजनामा हिमाल सुरक्षा परिषद्लाई निर्वाचनको मुख्य चुनौती मानिएको छ । 

२०७८ फागुन १५ गते सशस्त्र द्वन्द्वको घोषणा गरेका कारण यो अपराधिक समूहलाई सरकारले निर्वाचन सुरक्षामा मुख्य चुनौती मानेको हो । सशस्त्र युद्धको घोषणा गर्नुअघि नै उसले विभिन्न ठाउँमा बम र बमजस्तो देखिने शङ्कास्पद वस्तु (होक्स) राखेर सर्वसाधारणमा आतङ्क खडा गरिरहेको थियो । चन्दा आतङ्क पनि मच्चाइरहेको थियो । सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्याउने काम गरिरहेको यो समूहको संरचना भने नेपाल प्रहरीले ध्वस्त बनाइसकेको छ । निर्वाचनको मुख्य चुनौती मानिएको समूहका केन्द्रीय अध्यक्षसहितका व्यक्ति अहिले प्रहरीको हिरासतमा छन् । हिमाल सुरक्षा परिषदविरुद्धको कारबाहीमा प्रहरीले सफलता प्राप्त गरेको छ । 

परिषद्सँगै विप्लव नेतृत्वको नेकपा, सिके राउत नेतृत्वको जनमत पार्टी, मङ्गोल नेसनल अर्गनाइजेसनलगायत जातीय, क्षेत्रीय तथा साम्प्रदायिक समूहबाट हुनसक्ने अप्रत्यासित हर्कत र निर्वाचनमा सहभागी नहुने निर्णय गरेको नेकपा (क्रान्तिकारी माओवादी) वैद्य समूह सुरक्षा चुनौतीको रूपमा रहेको सरकारको ठहर छ । 

अपराधिक व्यक्तिहरु मिलेर हिमाल सुरक्षा परिषद् खडा गर्दै चन्दा असुली र गैरकानुनी क्रियाकलाप गर्ने काम भइरहेको थियो । सबैको सहानुभूति बटुल्न संवैधानिक राजतन्त्र, संविधान बहिस्कार, सङ्घीयता खारेज र मुलुक ५ विकास क्षेत्रमा परिणत, धर्मनिरपेक्षता खारेज, सनातनी हिन्दु राष्ट्र कायम, एमसीसी सम्झौता खारेज, प्रतिनिधि र राष्ट्रियसभामा ५६ बर्से उमेर हद, २०४६ सालपछिका सबै नेता र उच्च पदस्थको सम्पत्ति छानबिन, भारत–चीन सीमा विवाद समाधान, विदेशी उत्पादन बहिस्कार, भ्रष्टाचारको अन्त्य, छुवाछुत मुक्त समाज निर्माण लगायतका नारा दिइएको थियो ।  

चन्दा आतङ्क सिर्जना गरेर नक्कली बम राख्दै सर्वसाधारणमा त्रास सिर्जना गरिरहेको यो अपराधिक समूहले सशस्त्र युद्धकै घोषणा गरेपछि भने निर्वाचन सुरक्षामा मुख्य चुनौती हुनसक्ने आकलन सरकारले गरेको हो । ‘जेजस्ता नारा दिए पनि केही अपराधिक पृष्टभूमिका व्यक्तिहरु मिलेर हिमाल सुरक्षा परिषद् बनाउँदै अपराधिक धन्दा चलाइरहेका थिए,’ सुरक्षा स्रोतले भन्यो, ‘उसका सबै संरचना ध्वस्त बनाइसकिएका कारण अहिले यसको कुनै प्रभाव र असर छैन ।’ 

यो समूहले भारतमा बसेर योजना बनाउने र नेपालमा अपराधिक गतिविधि गर्ने गरेको पाइएको छ । प्रहरी स्रोतका अनुसार बम आतङ्क देखाएर चन्दा उठाउने र भारतमा बसेर नेपालबाट आर्थिक सङ्कलन गरी आपराधिक गतिविधिमा प्रयोग गर्ने गरेको खुलेको छ । योजनाकारहरुले मोटरसाइकल किनिदिने, पैसा दिने लगायतका प्रलोभन देखाएर विभिन्न व्यक्तिलाई शङ्कास्पद वस्तु राख्न लगाउने तथा चन्दा सङ्कलनमा परिचालन गर्ने गरेको पाइएको प्रहरीको भनाइ छ । 

प्रहरीले बनायो तहसनहस 

२०७८ चैत १४ गते सुनसरीको इटहरी उमपहानगरपालिका–२ स्थित अमर श्रेष्ठको घरमा डेरा बस्ने ३२ वर्षीया आशा ठकुरी भनिने लक्ष्मीदेवी थापा (ठकुरी)को कोठामा बम विष्फोट भयो । विष्फोटमा लक्ष्मीका छोरा रविन थापा र लमजुङको ढोडेनी गाउँपालिका–७ का २३ वर्षीय शेरजङ्ग गुरु घाइते भए । विष्फोटबाट कोठामा पनि क्षति पुग्यो ।  

घटनाको अनुसन्धानमा प्रदेश १ प्रहरी कार्यालय विराटनगर, सङ्घीय प्रहरी इकाई कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय इटहरीको संयुक्त टोली खटियो । टोलीले चैत १७ गते लक्ष्मीदेवीलाई पक्राउ गर्यो । घाइते भएका लक्ष्मीका छोरा रविन र शेरजङ्लाई पनि उपचारपछि प्रहरीले नियन्त्रणमा लियो । 

अनुसन्धानबाट घटनाका मुख्य योजनाकार झापाको कनकाई नगरपालिका–८ लक्ष्मीपुर बस्ने ४३ वर्षीय सञ्जय भनिने खगेन्द्र खरेल रहेको पत्ता लागेको सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाले बताए । उनका अनुसार हिमाल सुरक्षा परिषद् नामको अपराधिक समूहका केन्द्रीय अध्यक्ष रहेको खुलेपछि खरेललाई झापाबाट पक्राउ गरिएको हो । 

खरेलसँग साँठगाँठ देखिएपछि झापाका पत्रकार उत्तम रिजाललाई पनि प्रहरीले पक्राउ गरेको छ । बम राख्ने, चन्दा उठाउने लगायतका विषयमा पत्रकार रिजाल र खरेलबीच सामाजिक सञ्जालमार्फत सम्वाद हुने गरेको पाइएको प्रहरीले जनाएको छ । 

अदालतबाट म्याद थप गरेर पाँचै जनाविरुद्ध बम विष्फोटन र सङ्गठित अपराध मुद्दामा अनुसन्धान गर्ने काम भइरहेको एसपी थापाले बताए । बम विष्फोट गराएर समाजमा आतङ्क खडा गर्ने समूहविरुद्ध इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी खगेन्द्रबहादुर खड्काको नेतृत्वमा अनुसन्धान जारी छ ।  

पक्राउ परेकाहरुको साथबाट विभिन्न पर्चा, पम्प्लेट, परिषद्कै पर्चा, कफन लेखिएको सदस्यता रसिद, तामाको तार, केही भाग जलेको कपडा, कागज, सुतली डोरी, ब्याट्री, मोबाइल, सिमकार्ड, विभिन्न बैङ्कका चेक, रकम पठाएको र जम्मा गरेको रसिद, परिषद् केन्द्रीय कमिटीको छापा, परिषद्का नाममा जारी गरिएका फरकफरक विज्ञप्ति, पेनड्राइभ लगायत बरामद गरिएको जानकारी थापाले दिए ।  

२०७८ माघ ९ गते झापाको बिर्तामोडस्थित पश्चिम बस स्टेन्ड र १३ गते दमकस्थित शिवान चर्चमा बमजस्तो देखिने शङ्कास्पद वस्तु प्रेसर कुकर र परिषद्का पर्चाहरु भेटिएका थिए । दुवै घटनाका मुख्य योजनाकार खरेल नै रहेको अनुसन्धानबाट खुलेको झापा प्रहरीका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए । उनका अनुसार २०७६ वैशाख २८ गते झापाको कनकाई पुलमा ‘गोर्खा जनमुक्ति पार्टी’को नाममा ‘ग्रेटर नेपाल’को माग राख्दै बमजस्तो शङ्कास्पद वस्तु राखेको घटनामा पनि खरेलको संलग्नता पाइएको छ । 

‘विगतमा ‘गोर्खा जनमुक्ति पार्टी’को नामबाट अपराधिक गतिविधी गरिरहेको समूहले कारागारबाट छुटेपछि सङ्गठित रूपमा अपराधिक गतिविधी गर्नकै लागि नाम परिवर्तन गर्दै ‘हिमाल सुरक्षा परिषद्’ खोलेको पाइयो,’ डिएसपी पाठकले भने, ‘नयाँ समूह खडा गरे पनि उनीहरुले ‘गोर्खा जनमुक्ति पार्टी’कै जस्तो अपराधिक गतिविधि गरिरहेका थिए ।’ उनका अनुसार यसअघि नै झापाबाट परिषद्मा आवद्ध रहेका नौ जनालाई पक्राउ गरेर कानुनी कारबाही अघि बढाइएको थियो । 

पक्राउ पर्नेहरुमा झापाको गौरादह नगरपालिका–२ का ३८ वर्षीय सुमनकुमार कार्की, झापाकै कन्काई नगरपालिका–३ का ४१ वर्षीय भीष्म थापा, दमक नगरपालिका–९ का ५० वर्षीय देवी बाँस्कोटा (गुरागाईं), कन्काई नगरपालिका–३ का ५८ वर्षीय कुमार भनिने यमदत्त सिटौला, शिवसताक्षी नगरपालिका–१ का ३२ वर्षीय सरुण लिम्बू भनिने दिलकुमार सामेखाम, गौरीगञ्ज नगरपालिका–३ का ३२ वर्षीय आनन्द भनिने अनन्तप्रसाद गिरी, गौरादह नगरपालिका–५ का ३३ वर्षीय प्रदीप थापा, गौरीगञ्ज–३ का ४५ वर्षीय विजयकुमार दास हलुवाई र सङ्खुवासभाको खाँदबारी नगरपालिका–१० का २९ वर्षीय मनमोहन दाहाल रहेका छन् । 

पक्राउ परेकाहरुबाट हिमाल सुरक्षा परिषद् नेपाल, इन्चार्ज केन्द्रीय कमिटी, इन्चार्ज कोसी अञ्चल कमिटी, अध्यक्ष कोसी अञ्चल कमिटी, अध्यक्ष मेची अञ्चल कमिटी, इन्चार्ज मेची अञ्चल कमिटीका हस्ताक्षर मात्र भएका १० वटा छापहरु, आर्थिक सहयोग माग गरिएका लेटर प्याड, चन्दा माग्न प्रयोग गरिएका मोबाइलका सिमकार्ड बरामद भएको डिएसपी पाठक बताउँछन् । त्यसबाहेक विभिन्न पर्चा र पम्प्लेट तथा विभिन्न बैङ्कका चेकहरु बरामद भए 

पक्राउ परेकामध्ये कार्की ठेक्कापट्टा गर्दै आएका थिए । उनी वैदेशिक रोजगारी सम्बन्धी ठगी मुद्दामा २०७५ वैशाखदेखि २०७७ फागुनसम्म २२ महिना जेल परेका व्यक्ति भएको डिएसपी पाठकले बताए । कार्की लागुऔषध मुद्दाका फरार प्रतिवादी पनि समेत हुन् । 

सरुण लिम्बू भनिने दिलकुमार सामेखाम विगतमा लागुऔषध मुद्दामा ५ वर्ष कैद सजाय भुक्तान गरेर छुटेका व्यक्ति हुन् । परिषद्को गतिविधिका लागि झापा र मोरङ जिल्लाका विभिन्न स्थानबाट चन्दा उठाउने काममा उनी संलग्न रहेको खुलेको छ । उनले नेपालमा चन्दाबाट उठेको पैसा अपराधिक गतिविधिको योजना बनाउनलाई भारतसम्म लगेर सहयोग गरेको पाइएको छ ।  

अहिलेसम्म एक जना पत्रकारसहित परिषद्का १४ जना पक्राउ परिसकेका छन् । परिषद्का नाममा समाजमा आतङ्क खडा गर्ने समूहलाई पूर्ण रूपमा नियन्त्रणमा लिइसकिएको प्रहरीको भनाइ छ । ‘यसमा सङ्लग्न अझै पनि केही व्यक्ति हुन सक्छन् । विभिन्न हिसाबले अनुसन्धान अघि बढाएर खोजी एवम् पहिचानलाई जारी राखिएको छ,’ प्रहरी स्रोतले भन्यो, ‘तर परिषद्का नाममा बमजस्तो शङ्कास्पद वस्तु राख्ने, विष्फोट गराउने, चन्दा उठाउने तथा सर्वसाधारणलाई त्रसित बनाउने गतिविधिमा संलग्न मुख्य व्यक्तिहरुलाई नियन्त्रणमा लिएर कारबाही अघि बढाइएको छ । यो अपराधिक समूहलाई प्रहरीले तहसनहस बनाइसक्यो ।’ 

को हुन् खरेल ?

खरेल २०३४ साल वैशाख १७ गते ताप्लेजुङमा जन्मिएका हुन् । भारतको आसाममा बस्दै आएका उनका बुवा हरिश्चन्द्र त्यहाँको सञ्चार निगममा काम गर्थे । खगेन्द्र अढाई वर्षको हुँदादेखि अभिभावकसँगै आसाममै बस्न थाले । 

भारतमै पढेका र हुर्किएका खगेन्द्र सन् १९९७ मा भारतीय सेनामा भर्ना भएर केही वर्ष काम गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यस क्रममा विद्रोहीको आक्रमणमा परेर उनी घाइतेसमेत भएका थिए । चिकित्सकले अशक्त भनेर रिपोर्ट दिएपछि खानेपाउने लिएर उनले जागिर छाडेको पाइएको छ ।  

भारतीय सेनामा आवद्ध हुँदा उनले बम बनाउन र हतियार चलाउन सिकेको प्रहरी स्रोतले बतायो । त्यसपछि उनी सन् २००८ मा नेपाल आए । डेढ वर्षपछि दुबई गएका खरेल नौ महिना बसेर नेपाल फर्किए । 

त्यसपछि उनी ‘ग्रेटर नेपाल’को अभियानमा सहभागी भए । सन् २०१३ मा अन्तर्राष्ट्रिय नापी विभागको गेटअगाडि बम विष्फोट गराएको घटनासमेत खरेलको संलग्नता पाइएको छ । त्यसपछि २०७६ सालमा ‘ग्रेटर नेपाल’ अभियानमा फाटो आएपछि तत्कालीन अध्यक्ष फणिन्द्र नेपाल र उपाध्यक्ष रामशरण पाण्डे अलग भए । 

उनले पाण्डेलाई साथ दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । पाण्डेले ‘ग्रेटर नेपाल युनाइटेड’ नामको अर्को समूह खडा गरेका थिए । तत्कालीन ‘गोर्खा जनमुक्ति पार्टी’का अध्यक्ष पोखराका विमल खत्री पनि सोही समूहमा आवद्ध थिए ।

त्यस क्रममा विभिन्न ठाउँमा बम राखेको र विष्फोट गराएको घटनामा खरेलको संलग्नता पाइएको छ । खरेल पहिलोपटक २०७७ जेठ १५ गते सुनसरीको इटहरीबाट पक्राउ परेका थिए । उनी १४ महिना जेल बसेर छुटे । पछि ‘ग्रेटर नेपाल युनाइटेड’बाट अलग भएर भूमिगत सङ्गठन हिमाल सुरक्षा परिषद् खोलेर गतिविधि गर्न थालेको पाइएको छ । 

२०७८ माघ ७ गते २० बुँदे माग राखेर इमेलमार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाएको पनि खुलेको छ । मुलुकका विभिन्न ठाउँमा भूमिगत गतिविधि पनि यो समूहले सञ्चालन गरिरहेको थियो । 

आफ्नो अस्तित्व देखाउन मानवीय क्षति नहुने गरी स्थानीय तह, चर्च, इटहरी र काठमाडौंका विभिन्न ठाउँमा बम राख्ने योजना यो समूहले बनाएको थियो । त्यही क्रममा चर्चमा राख्नलाई भनेर तयार पारिएको बम इटहरीमा विष्फोट भएको अनुसन्धानबाट खुलेको छ । 

खरेल २०७७ सालदेखि भारत जाने र आउने गरिरहेको पाइएको छ । उनले अपराधिक घटनाका सबै योजना भारतमै बसेर बनाउने गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकीमध्ये लक्ष्मीसँग फेसबुकमा ७ महिनाअघि चिनजान भएपछि खगेन्द्रले उनलाई परिषद्मा आवद्ध गराएको खुलेको छ । 

शेरजङ्ग २ महिनाअघि मात्रै यो समूहमा आवद्ध भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई भारतमा लगेर प्रशिक्षण दिँदै बम विष्फोट गराएर स्थानीय तह निर्वाचन बिथोल्ने योजना बनाइएको थियो । निर्वाचनविरुद्ध गतिविधि गर्न ५ ठाउँमा बम विष्फोटको योजनासमेत बनाएको पाइएको छ । 

लक्ष्मीले डेरा लिएको कोठामा विष्फोट भएको बम इटहरीको मिसनवाट चर्चको गेटमा विष्फोट गराउने योजना रहेको प्रहरी स्रोतको भनाइ छ । उक्त बम विष्फोट गराएवापत शेरजङ्गलाई एक लाख ५० हजार उपलब्ध गराउने प्रलोभन दिइएको थियो । उक्त चर्चमा बम राख्ने घटनाका मुख्य योजनाकार खरेल रहेको प्रहरीले पत्ता लगाएको छ । तर बम चर्चमा राख्न नपाइकन कोठामै विष्फोट हुँदा शेरजङ्ग र रविन घाइते भएका हुन् । 

चुनावमा छैन सुरक्षा चुनौती 

हिमाल सुरक्षा परिषद्का नाममा निर्वाचनमा कुनै पनि सुरक्षा चुनौती नरहेको प्रदेश १ प्रहरी प्रमुख डिआइजी अरुणकुमार बिसीले बताए । ‘परिषद् केही व्यक्तिहरु मिलेर बनाइएको एउटा अपराधिक समूह हो । यसको संरचना प्रहरीले ध्वस्त बनाइसकेको छ । परिषद्का नाममा हुनसक्ने अरु पनि सम्भावित गतिविधिमाथि चनाखो भएर प्रहरीले निगरानी बढाएको छ । प्रहरीले नियन्त्रणमा लिइसकेका कारण चुनावमा यो समूहले कुनै असर पुर्याउने देखिँदैन,’ उनले भने । 

बिसीले निर्वाचनका बेला हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था मजवुत बनाइने भएका कारण ढुक्क भएर मतदानमा सहभागी हुन मतदातालाई आग्रह गरेका छन् । ‘उम्मेदवार, मतदाता, मतदानस्थलमा परिचालित कर्मचारी, निर्वाचन आयोगका पदाधिकारी, मतदान केन्द्र, मतपत्रसहितका निर्वाचन–सामग्री, पर्यवेक्षक, राजनीतिक दलका नेता, कार्यकर्ताको सुरक्षामा कुनै कमजोरी हुन दिइने छैन,’ उनले भने, ‘सम्भावित खतराको आकलन गरेर त्यही हिसाबमा सुरक्षा व्यवस्था मिलाइने छ ।’ 

संविधान कार्यान्वयन र निर्वाचन नचाहने तत्वको अवाञ्छित गतिविधिलाई सूक्ष्म निगरानीमा राखेर निस्प्रभावी तुल्याउने, राजमार्ग र सडकमा कुनै अवरोध हुन नदिने, भएमा तत्काल कारबाही गर्ने, निर्वाचन अवधिभर बन्द, हड्ताल, चक्काजाम गर्न नदिने तथा अन्तर्राष्ट्रिय सीमा–नाकाबाट हुनसक्ने घुसपैठ नियन्त्रणमा लिने सवालमा सुरक्षा सतर्कता बढाइएको उनको भनाइ छ ।