नेपाल-भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१८ इस्लामपुरनजिक भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानले सोमबार दिउँसो हवाई फायर गरेका छन् । 

रक्सी सेवन गरेर सीमा क्षेत्रको दसगजानजिक भारतीय भूमिमा होहल्ला गरिरहेका बेला स्थानीयले घेरेपछि उनले तीन राउन्ड हवाई फायर गरेको बताइएको छ । मदिराको नसामा होहल्ला गर्दा स्थानीयसँग विवाद भएपछि आत्मरक्षाका लागि गोली पड्काएका उनले दुई राउन्ड आकाश र एक राउन्ड जमिनतिर हवाई फायर गरेको नेपाली सुरक्षाकर्मीले जनाएका छन् । दसगजानजिक सुरक्षामा खटिएका एसएसबीका जवानले दुई देशीय सीमा संवेदनशीलताको ख्याल नगरिकन एक्कासि गोली पड्काएपछि स्थानीयबीच भागदौड मच्चिएको थियो । घटनापछि स्थानीय त्रसित एवं आकंकित बनेका छन् । त्यसको केही बेरमा घटनास्थलमा स्थानीयको ठुलो भीड लागेको थियो । 

​​​​​​​

अति नै संवेदनशील मानिने सीमा क्षेत्रको सुरक्षामा खटिने एसएसबीको यो हर्कत र अराजकताको स्थानीयले विरोध गरेका छन् । त्यसलगत्तै आएको एसएसबीको टोलीले उनलाई नियन्त्रणमा लिएर लगेको छ । घटनामा कुनै मानवीय क्षति भने भएन । 

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले एसएसबीका जवानले भारतीय भूमिमा गोली पड्काएको जानकारी प्राप्त भएको बताए । घटनास्थल दसगजाबाट लगभग सय मिटर पर भारतीय भूमिमा पर्ने उनको भनाइ छ । भारतीय नागरिकसँगको विवादपछि हवाई फायर गरेको भन्ने कुरा आए पनि यस विषयमा थप बुझ्ने काम भइरहेको जानकारी प्रजिअ दाहालले दिए ।