निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा सात सय ५३ वटै स्थानीय तहका मतगणनास्थलमा अनिवार्य रूपमा सिसी क्यामराको प्रबन्ध गर्न लगाएको छ । मतगणना कार्यलाई पारदर्शी र सुरक्षित राखी कुनै विवाद उत्पन्न भएको पाइएमा विद्युतीय अभिलेखीकरणका लागिसमेत उपयोगी हुने भएकाले सिसी क्यामराको प्रबन्ध गर्न निर्देशन दिइएको हो । 

सो प्रयोजनका लागि आयोगले नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई परिपत्र पनि गरिसकेको छ । आयोगका प्रवक्ता एवम् सहसचिव शालिग्राम शर्मा पौडेलले कुनै कुनै पालिकामा उक्त क्यामरा राख्नै पर्ने-नपर्ने भनेर सोधनी भएको उल्लेख गरे ।  आयोगको निर्णय कार्यान्वयन गर्न आनाकानी गरिए मान्य नहुने र राख्न नचाहनुको अर्थ त्यहाँ कुनै गडबडी गर्न लागिएको त होइन ? भन्ने प्रश्न उत्पन्न बताए ।