निर्माण व्यवसायी महासङ्घ प्रदेश १ ले विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिपषद्को कार्यालयमा विरोध प्रदर्शन गरेका छन् । पछिल्लो समय आकासिएको मूल्यवृद्धिले निर्माणजन्य कार्यलाई अघि बढाउन नसकिएको जनाउँदै मङ्गलबार विराटनगरमा महासङ्घ आबद्ध व्यवसायीहरूले कन्स्ट्रक्स होलिडेका रूपमा विरोध गरेका हुन् ।
निर्माण व्यवसायी सङ्घ मोरङका महासचिव ध्रुव कार्कीले सरकारलाई समेत मूल्यवृद्धिबारे जानकारी गराउँदा समस्या हल नभएपछि विरोधमा उत्रिनुपरेको बताए । मूल्य समायोजन मार्गदर्शन दुई जारी गर्न माग गर्दै कार्कीले विरोधका क्रममा बाध्यतापूर्वक सबै जिल्लामा बिहान १ घण्टा काम ठप्प पार्नुपरेको बताए । विभिन्न क्षेत्रमा काम सम्पन्न भएपनि रकम भुक्तानी हुन बाँकी रहेको बताउँदै उनले खरिद ऐन ११औंलाई संशोधन गर्दै नयाँ संशोधित ऐन जारी गर्नुपर्ने माग गरेको बताए ।


