सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा ५ फोक्लेन टापुमा दुई समूहबीच झडप हुँदा ६ जना घाइते भएका छन् । शनिबार साँझको समयमा स्थानीय एभरेष्ट राई लगायका युवाहरुको समुह र भोजराज गौतमको परिवारबीच झडप भएको हो । झडपमा दुवैतर्फका गरि ६ जना घाइते भएका छन् । घटनामा भोजराज गौतम, उनकी श्रीमती शान्ता गौतम र छोरा राजु गौतम तथा एभरेष्ट राईकी श्रीमती लगायत घाइते भएको प्रहरीले जनाएको छ ।

स्थानीय मिसन राई, एभरेष्ट राई, मनकाजी राई, सुसन राई लगायतको समूहले आफ्नो घर अगाडी आएर एक्कासी छोरालाई कुटपित गर्न थालेको र छुट्याउन जाँदा परिवारका सबै सदस्यलाई कुटपिट गरेको गौतमले बताउनुभयो । कुनै कारण विना नै राजनीतिक कुरा जोडेर आफु र आफ्नो परिवारमाथि कुटपित भएको उहाँको भनाइ छ । कुटपितबाट घाइते भएका पीडित गौतमको हात चल्दैन भने शरिरका विभिन्न ठाउँमा चोट लागेको छ । यस्तै छोरा राजु गौतमको हातमा चोट लागेको छ । दाजुलाई प्रहार गरेको खुकुरी छेक्ने क्रममा आफ्नो हातमा चोट लागेको गौतमले बताउनुभयो । सो समूहले गर्भवती अवस्थाकी आफ्नी श्रीमतीलाई समेत भाटाले प्रहार गरेको राजु गौतमको भनाइ छ । उनीहरुले दोषीमाथि तत्काल कडा भन्दा कडा कारवाही गरि समाजमा भयरहित वातावरण सिर्जना गर्न माग गरेका छन् ।
यता बलिया प्रहरीले भने गौतम परिवार र एभरेष्ट राईको समूहबीच यसअघि पनि झडप भएकोमा मिलापत्र गराएर पठाइएको जनाएको छ । राजनीतिक कारण भन्दा पनि घटना पारिवारिक वा आर्थिक कारणले भएको हुनसक्ने भएकाले थप अनुशन्धान भइरहेको प्रहरीको भनाइ छ ।
सुन्दरहरैंचा ५ को यो क्षेत्र आसपासमा यस्ता कुटपित र झडपका घटना निक्कै हुने गरेका छन् । केही वर्षअघि यहि क्षेत्रमा कृयापुत्री बसेकाहरुमाथि आक्रमण भएको थियो । स्थानीयबासीले यो क्षेत्रमा प्रहरी चौकी स्थापना गर्न माग गर्दै आएका छन् ।


