हप्तामा दुई दिन बिदा दिन नेपाल राष्ट्र बैङ्क र नेपाल आयल निगमले गरेको प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा निरन्तर उकालो लागेको पेट्रोलियम पदार्थको खपत कम गर्न नेपाल राष्ट्र बैङ्क र नेपाल आयल निगमले उक्त प्रस्ताव गरेका हुन् ।

नेपाल आयल निगमका सहप्रवक्ता पुष्कर कार्कीका अनुसार दुई दिन सार्वजनिक बिदा दिँदा अत्यावश्यकबाहेकका सवारी साधनहरू नगुड्ने भएका कारण पेट्रोलियम पदार्थको खपतमा मासिक ३५ प्रतिशतले कमी आउने छ । जसका कारण नेपाल आयल निगमले बेहोरिरहेको घाटा पनि कम हुने उनको भनाइ छ ।हप्तामा दुई दिन बिदा दिने हो भने सवारी साधन कम गुड्ने भएका कारण खपत कम भई मुद्रा विदेसिनबाट रोकिने र व्यापार घाटा पनि कम हुने उनको विश्वास छ ।

यता, सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दुई दिन बिदा दिने कुरा चले पनि आधिकारिक निर्णय भने नभएको बताए । यस विषयमा छलफल भइरहे पनि आधिकारिक निर्णय भने भइनसकेको उनको भनाइ छ ।