इटहरी । इटहरीमा आधुनिक फोहोर प्रशोधन केन्द्र संचालनमा ल्याइएको छ । इटहरी १० मा फोहोरलाई सदुपयोग गर्ने गरी प्रशोधन केन्द्र सञ्चालनमा ल्याइएको हो । प्रशोधन केन्द्रको उद्घाटन प्रदेश नम्वर १ का पूर्व मुख्यमन्त्री भीम आचार्यले गरेका हुन् । 

इटहरी उपमहानगरपालिका, वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्र र वेस्ट एण्ड इन्भारो म्यानेजमेन्टको त्रिपक्षीय साझेदारीमा फोहोर प्रशोधन केन्द्र संचालनमा ल्याइएको हो । केन्द्र संचालनका लागि वैकल्पिक उर्जा पबद्र्धन केन्द्रमार्फत् विश्व बैकंको ६० प्रतिशत अनुदान र वेस्ट एण्ड इन्भारो म्यानेजमेन्टको ४० प्रतिशत लगानी रहेको छ । इटहरी उपमहानगरपालिकाले जग्गा, त्यहाँ सम्म पुग्ने कालोपत्रे बाटो र पर्खाल लगाउने कार्य गरेको छ । 

उपमहानगरका वातावरण शाखा प्रमुख पुष्पनारायण चौधरीका अनुसार इटहरीमा प्रत्येक दिन ५५ टन फोहोर जम्मा हुन्छ । केन्द्रको प्रत्येक दिन आठ सय केजी सम्म ग्याँस उत्पादन गर्ने क्षमता छ । सड्ने फोहोरबाट मात्र ग्याँस उत्पादन हुन्छ । नसड्ने फोहोरलाई रिसाइक्लिङ्ग गरेर बिक्रि गरिन्छ । प्रशोधन केन्द्रको उद्घाटन गर्दै पूर्व मुख्यमन्त्री भीम आचार्यले नगरका लागि अत्यन्तै आवश्यकीय फोहोर प्रशोधन केन्द्र निर्माण भएर सञ्चालनमा आएकोमा खुशी ब्यक्त गरे । 

प्रदेश सांसद लिलम बस्नेतले इटहरीमा चुनौतीको रुपमा रहेको फोहोरमैला ब्यवस्थापनको कार्य ब्यवस्थित हुनु नगरवासीकालागि खुशीको कुरा रहेको बताए । नगरप्रमुख द्वारिकलाल चौधरीले प्रशोधन केन्द्रका कारण वडा नम्वर १० को विकासमा टेवा पुगेको बताए । उपप्रमुख लक्ष्मी गौतमले पाँच वर्षे कार्यकालकै एक गौरव गर्न लायक कार्य सम्पन्न भएको जनाइन् । कार्यक्रममा वडाध्यक्ष प्रकाश चौधरी, वडासदस्य राम नारायण चौधरी, वेन्ट इन्भाइरो एण्ड म्यानेजमेन्टका प्रबन्ध निर्देशक मोहन भण्डारी, व्यवस्थापक मानध्वज मोक्तानलगायत बोलेका थिए । केन्द्र संचालनमा नेपाल बंगलादेश बैकको वित्तीय सहयोग रहेको जनाइएको छ । 

बिहीबार नै इटहरी उपमहानगर वडा नम्वर ७ स्थित वहुवर्षे सडकको उद्घाटन गरिएको छ । विभिन्न खण्ड गरि करिब तीन किलोमिटर कालोपत्रे सडकको पूर्वमुख्यमन्त्री भीम आर्चायले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा मेयर चौधरी, प्रदेश सांसद बस्नेत, वडा नम्वर ७ का वडाध्यक्ष नरबहादुर राई र वडासदस्य देव नारायण चौधरी लगायतले बोलेका थिए ।