सुन्दरहरैँचा। अधिकारकर्मीको टोलीले सामुहिक बलात्कारपछि हत्या गरिएकी सुन्दरहरैँचा नगरपालिका-७ की डेढ वर्षीया बालिकाको परिवारलाई आजभेट गरि घटनाका विषयमा जानकारी लिएको छ ।
गत फागुन २७ गते अपहरण गरी सामुहिक बलात्कार पश्चात् हत्या गरिएकी बालिकाको परिवारलाई भेटेर घटनाका विषयमा जानकारी लिएको इन्सेक प्रदेश १ कार्यालय विराटनगरका प्रलेख अधिकृत पुण्य अधिकारीले बताउनु भयो । घटनाको विषयमा जानकारी लिएपछि आर्थिक अवस्था कमजोर रहेको पीडित परिवारलाई इन्सेक, माइती नेपाल र आफन्त नेपालले १० हजार रुपियाँ आर्थिक सहयोग गरेका छन् । इन्सेकसहित राष्ट्रिय मानव अधिकार आयोग, सिविन, माइती नेपाल र आफन्त नेपाल लगायतका सामाजिक संस्थाले घटनाका विषयमा प्रहरीले गरिरहेको अनुसन्धान प्रक्रिया र पीडित पक्षले गरिरहेको आन्दोलनका विषयमा जानकारी लिएको छ । पीडित परिवारले दोषीलाई कारबाही गर्न पहल गरीदिन अधिकारकर्मीसँग आग्रह गरेको छ । पीडित परिवारसँगको भेटमा अधिकारकर्मीले घटनाका विषयमा मिलापत्रका लागि कोही कसैले दबाब दिएको वा प्रभाव पारेको नपारेको विषयमा जानकारी लिएको छ । अधिकारकर्मीकोे टोलीले पीडित परिवारलाई आर्थिकसहित खाद्यान्न समेत सहयोग गरेको छ ।
बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले सुन्दरहरैँचा नगरपालिका-७ का २५ वर्षीय अजय चौधरी र सोही ठाउँका २८ वर्षीय मिथुन चौधरीलाई फागुन २८ गते गिरफ्तार गरी फागुन २९ गते सार्वजनिक गरिसकेको छ ।


