अहिले कपाल झर्ने एउटा साझा समस्या बनेको छ । विभिन्न कारणले पछिल्लो समय पुरुषको मात्रै नभएर महिलाहरुमा समेत कपाल झर्ने समस्या बढ्दै गएको देखिन्छ ।

पुरुषमध्ये पनि आधाभन्दा धेरैमा यस्तो समस्या देखिएको चिकित्सक बताउँछन् । महिलाहरुमा यो समस्या कम भएपनि अस्वस्थ जीवनशैली र खानपानका कारण पछिल्लो समय कपाल झर्ने समस्या बढ्दै गएको छ 

महिलाहरुमा देखिएको यो समस्या ‘डाइटिङ’ र ‘वेटलस’का साथै महिलाको हर्मोन, भिटामिन डीको कमी आदि कारणले पनि कपाल झर्ने समस्या बढेको  हो 

सामान्यतया पुरुषको कपाल निधारपट्टिबाट झर्दै टाउकोको बीचमा रहेको भूमरीतिर पुग्छ । कपाल झर्ने समस्या मुख्यतः दुई कारणले हुन्छ, एउटा वंशाणुगत कारण र अर्को ‘एन्ड्रोजेनेटिक एलोपेसिया’को कारण । साधारण भाषामा भन्दा टेस्टेड्रोन भन्ने हर्माेनको कारण मानिसमा कपाल झर्ने समस्या देखिन्छ । अहिले १५–१६ वर्षका किशोरहरुमा समेत कपाल झर्ने समस्या देखिने

समाधान के छ ?

जसरी घाँसपातलाई पातलो हुँदै गएमा मलजल गरिन्छ र पूर्ण रुपमा मर्‍यो भने त्यसलाई पुनः रोप्नुपर्ने हुन्छ । त्यसरी नै कपाल पनि पातलो हुँदै गयो भने त्यसलाई मलजल गरेर भर्दै जान सकिन्छ । तर पूर्ण रुपमा रित्तिसकेको छ भने पुनः रोप्नुपर्ने अवस्था आउँछ, त्यसलाई कपाल प्रत्यारोपण भनिन्छ ।

कपाल प्रत्यारोपण गर्दा टाउकोको भूमरीभन्दा पछाडिको भागको कपाललाई अगाडि ल्याएर रोप्ने गरिने डा. घिमिरे बताउँछन् । कपाल प्रत्यारोपण गर्दा टाउकोको पछाडिपट्टिको भागको कपाल जसलाई ‘एन्ड्रोजेनइन सेन्सेटिभ एरिया’ भनिन्छ । त्यही भागको कपाल निकालेर कपाल झरेको भागमा एक–एकवटा ग्राफ्ट प्रत्यारोपण अर्थात् रोप्ने काम गरिन्छ । सर्जरीको माध्यमबाट कपाल प्रत्यारोपण गर्दा मानिसलाई बेहोस बनाउनु नपर्ने डा. घिमिरे बताउँछन् ।

कपाल निकाल्ने र प्रत्यारोपण गर्ने भागमा अस्थायी एनेस्थेसिया दिएर प्रत्यारोपण गर्न सकिन्छ । यसरी रोपेको कपाल दुईदेखि तीन हप्ता पछाडि झर्छ । तर १० देखि १६ हप्ताको बीचमा कपाल अझ बाक्लो भएर उम्रिन्छ । दुई हजारवटा ग्राफ्ट कपाल प्रत्यारोपण गर्न ६ देखि ८ घण्टाको समय लाग्छ ।

कपाल प्रत्यारोपण गर्दा निधारको साइडबाट सामान्य रुपमा झरेको कपाल रोप्न ५०-६० हजार रुपैयाँ लाग्ने डा. घिमिरे बताउँछन् । भूमरीभन्दा पछाडिसम्म झरेको कपाल रोप्नु परेमा भने साढे ३ लाख रुपैयाँसम्म पर्छ ।