सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा १० मा रहेको नेती फार्मेसीले प्रतिवन्धित औषधी बिक्री गरेको पाइएकाले प्रहरीले औषधी पसल सिल गरि सञ्चालकलाई नियन्त्रणमा लिएको छ । फर्माबाट डाक्टरको पूर्जा बिना प्रतिवन्धित औषधिहरु बिक्री गरेको आरोपमा प्रहरीले पसल सञ्चालक तथा प्रयाेग कर्तालाई नियन्त्रणमा लिएको हाे । औषधी व्यवस्था विभाग विराटनगर, इलाका प्रहरी कार्यालय बेलबारी र विराटचोकको टोलीले छापा हानी औषधी पसलका सञ्चालक सुशील काफ्लेलाई नियन्त्रणमा लिएकाे प्रहरीले जनाएको छ ।

सो पसलबाट खरीद गरिएको औषधी पटकपटक दुव्र्यसनमा लागेका युवाहरुसँग भेटिने गरेको प्रहरीले जनाएको छ । यसभन्दा पहिले त्यस्तो औषधी नबेच्नु भनी पसल सञ्चालकलाई सचेत समेत गराइए पनि त्यस्तो गतिविधि दोहोरिएकाले सञ्चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । दुव्र्यसनीमा लागेका ७ जना युवालाई विभिन्न ठाउँबाट प्रहरीले पक्राउ गरेको र उनीहरुको बयानको आधारमा पसलमा छापा हानिएको उल्लेख गरिएको छ ।प्रहरीका अनुसार न्युरिन ७५ नामक औषधी १८ हजार ९ सय २३ चक्की बरामद भएको छ । अपाबासिन ७५ नामक औषधी १४ हजार ६ सय चक्की, स्पासपेन ४४ हजार ३ सय ७० चक्की, एन्टीकोफ नामक औषधी १७ हजार ६ सय २० चक्की र पीआरएफ जेड ७५ नामक औषधी १ हजार २ सय चक्की बरामद भएको प्रहरीले जनाएको छ । साथै बरामद भएको अाैषधीकाे बजार मूल्य करिव ४८ लाख ३५ हजार ६ सय ५० रुपैया रहेको जिल्ला प्रहरी कार्यालय माेरङले जनाएको छ । नियन्त्रणमा लिइएकाहरुलाई थप अनुसन्धान गरि कार्वाही प्रक्रिया अगाडि बढाइने इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख सराेज खनालले जानकारी दिए ।