प्रेस काउन्सिल नेपालले पत्रपत्रिकाको वर्गीकरण नतिजा सार्वजनिक गरेको छ । विगत तीन वर्षदेखि सार्वजनिक हुन नसकेको नतिजा काउन्सिले आइतबार सार्वजनिक गरेको हो ।
प्रेस काउन्सिलले आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को पत्रपत्रिका वर्गीकरणको नतिजा सार्वजनिक गरेको हो । प्रेस काउन्सिल ऐन, २०४८ को दफा १० बमोजिम गठित पत्रपत्रिका वितरण सम्परीक्षण समितिको वर्गीकरण प्रतिवेदनको आधारमा आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को वर्गीकरणको नतिजा सार्वजनिक गरिएको हो ।
आर्थिक वर्ष २०७७/७८ को नतिजा भने सार्वजनिक हुन बाँकी छ । आ.व. २०७५/०७६ को वर्गीकरणको लागि आवेदन दिने आठ सय ८३ (प्रदेशस्तर एक सय ६६, राष्ट्रियस्तर एक सय ६५, स्थानीयस्तर पाँच सय ५२) पत्रपत्रिकामध्ये दुई सय १९ वटा पत्रिका क वर्गमा, चार सय ७६ वटा ख वर्गमा एक सय ३७ वटा ग वर्गमा र १५ वटा घ वर्गमा परेको हो । ३६ वटा पत्रिका नियमित प्रकाशित भएको भएतापनि हुबहु प्रकाशित भएको कारणले गर्दा वर्गीकरणमा पर्न सकेनन् ।
त्यस्तै आ.व. २०७६/०७७ को वर्गीकरणको लागि आवेदन दिने आठ सय ७८ (प्रदेशस्तर एक सय ६९, राष्ट्रियस्तर एक सय ४९, स्थानीयस्तर पाँच सय ६०) पत्रपत्रिकामध्ये दुई सय ३९ वटा क वर्गमा चार ३१ वटा ख वर्गमा एक सय ६३ वटा ग वर्गमा परेका छन् भने घ वर्गमा कुनैपनि पत्रिका छैनन् । ४५ वटा पत्रिका नियमित प्रकाशित भएको भएतापनि हुबहु प्रकाशित भएको कारणले गर्दा वर्गीकरणमा पर्न सकेनन् ।


