इटहरी स् गत वर्षको बाढीले झापा गाउँपालिका–१ का ६५ वर्षीय राजु अग्रवालको दुई बिघा धानखेत बगायो। उर्वर जमिन बालुवाको बगरमा परिणत भएपछि उनी चिन्तित बने। वर्षौंदेखि धान फलाउँदै आएको खेतमा अब के लगाउने भन्ने अन्योल थियो। तर, विपत्तिलाई अवसरमा बदल्ने सोचले उनलाई नयाँ खेतीतर्फ डोर्यायो। अहिले त्यही बगरमा बदाम फलेपछि अग्रवालको निराशा उत्साहमा बदलिएको छ।
धान उत्पादन हुने खेतमा बदाम खेती सम्भव होला भन्ने धेरैलाई विश्वास थिएन। तर अग्रवालले कृषि प्राविधिकसँग परामर्श गरेपछि परीक्षणका रूपमा बदाम लगाउने निर्णय गरे। भारतीय बजारबाट १० किलो बीउ ल्याएर पाँच कट्ठा जमिनमा सुरु गरेको खेती अहिले दुई बिघामा विस्तार भएको छ। पहिलो वर्षको परीक्षण सफल भएपछि उनले खेतीको क्षेत्रफल बढाएका हुन्। यसपटक बगरमा करिब २० क्विन्टल बदाम उत्पादन भएको छ। उत्पादित बदाम प्रतिकिलो १०४ रुपैयाँका दरले बिक्री भइरहेको अग्रवालले बताए।
‘धान फल्ने खेत बालुवाको बगर बनेपछि दुःख लाग्नु स्वाभाविकै थियो। बाढीको कहरले स्तब्ध बनाएको थियो, तर विचलित भइनँ,’ उनले भने, ‘के खेती गर्न सकिन्छ भनेर सोधीखोजी गरेँ। बदाम फल्छ भन्ने थाहा पाएपछि उत्साहका साथ खेती सुरु गरेँ।’ जेठमा रोपेको बदाम कात्तिकमा तयार भएपछि अहिले अग्रवाललाई बाली भित्र्याउने चटारो छ। लहरे प्रजातिको बदाम खेतीबाट परम्परागत धानखेतीभन्दा राम्रो आम्दानी हुने उनको अपेक्षा छ। बाढीले खेतको स्वरूप नै परिवर्तन गरिदिए पनि त्यही परिवर्तनलाई उपयोग गरेर नयाँ सम्भावना खोज्न सकिने उनको अनुभव छ।
पहाडी क्षेत्रमा बढी गरिने बदामखेती तराईको झापामा पनि सफल हुनुले स्थानीय किसानका लागि नयाँ सम्भावना देखाएको छ। कृषि प्राविधिकको सुझावलाई व्यवहारमा परीक्षण गरेर अग्रवालले बलौटे जमिनमा समेत वैकल्पिक खेती गर्न सकिने देखाएका छन्। झापा गाउँपालिकाकी कृषि प्राविधिक रीता बर्देवाका अनुसार खुकुलो, हलुका र बलौटे–दोमट माटो बदाम उत्पादनका लागि उपयुक्त हुन्छ। तराईको न्यानो मौसम पनि बदाम खेतीका लागि अनुकूल मानिन्छ। बदाम स्वादका लागि मात्र नभई पोषण र स्वास्थ्यका दृष्टिले पनि उपयोगी मानिन्छ। त्यसैले यसको बजार सम्भावना पनि रहेको कृषि प्राविधिक बताउँछन्। बाढीले उर्वर खेत बगरमा परिणत गर्दा धेरै किसानलाई क्षतिको पीडा थपिएको छ। तर अग्रवालले त्यही बगरमा बदाम फलाएर खेतीको विकल्प खोजेका छन्। उनको प्रयासले प्राकृतिक विपत्तिपछि पनि माटोको अवस्था र अनुकूलता पहिचान गरेर वैकल्पिक खेती गर्न सकिने सन्देश दिएको छ।


