इटहरी । स्थानीय बासिन्दा र टिप्पर व्यवसायीबिच विवाद भएपछि सिराहाको मिर्चैयास्थित सौर्य सिमेन्ट उद्योगको चुनढुङ्गा ढुवानी ठप्प भएको छ । 

उदयपुरको कटारी नगरपालिका–८, गाल्टारबाट खानी उत्खनन गरी चुनढुङ्गा ढुवानी हुँदै आएकोमा टिप्पर दुर्घटनाको जोखिम बढेको भन्दै स्थानीय विरोधमा उत्रेपछि चुनढुङ्गा ढुवानी ठप्प भएको हो । सौर्य सिमेन्टले ढुवानीका लागि प्रयोग गर्दै आइरहेको कटारी–सिम्ले–मर्जेपुर–गाल्टार खानीक्षेत्र सडकमा स्थानीयले दुर्घटनाको जोखिम बढेको भन्दै टिप्पर सञ्चालनमा पूर्ण रूपमा रोक लगाएका छन् । टिप्पर व्यवसायीले भने सोही सडकबाट तत्कालका लागि ढुवानी गर्न पाउनुपर्ने माग गर्दै सिद्धिचरण लोकमार्ग र मदन भण्डारी लोकमार्गमा टायर बालेर यायातात अवरुद्ध गर्न थालेपछि प्रहरीले उनीहरूलाई तितरबितर पारेर सवारी आवागमन भने सुचारु गरेको छ ।

उदयपुर, सिराहा र सिन्धुलीका टिप्पर व्यवसायी समितिका अध्यक्ष नयन सुनुवारले स्थानीयको विरोधका कारण ढुवानी रोकिएपछि सडक  खुलाउन माग गर्दै अर्को सडक बन्द गरेर आन्दोलन गर्नु परेको बताउनुभयो । इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक उपेन्द्र खरेलका अनुसार आगामी सोमबार कटारी नगरपालिकाका जनप्रतिनिधि, प्रदेश सांसद र सङ्घीय सांसदसहित सबै पक्ष नगरपालिकाको बैठककक्षमा बसेर छलफल गरी समाधान खोज्ने सहमतिपछि टिप्पर व्यवसायीको आन्दोलन र दुवै लोकमार्गबाट अवरोध हटेको छ । स्थानीयले गरेको आन्दोलन भने जारी छ ।

सौर्य सिमेन्टले कटारी नगरपालिका–८ को गाल्टार क्षेत्रबाट चुनढुङ्गा उत्खनन गर्दै आइरहेको छ । त्यसमा कटारी नगरपालिका–७ स्थित मर्जेपुर टोल विकास संस्थाले सौर्य सिमेन्टको चुनढुङ्गा ढुवानीका लागि स्थानीयको बस्ती हुँदै जाने सडक प्रयोग नगर्न माग गरेर अवरोध गरेपछि समस्या उत्पन्न भएको हो । सौर्य सिमेन्टकै चुनढुङ्गा ढुवानी सडकमा पर्ने सिम्ले गाउँका स्थानीयले पनि टिप्पर सञ्चालनका लागि वैकल्पिक सडक खोज्न माग गर्दै आइरहेका छन् । 

कटारी नगरपालिकाकी उपप्रमुख गीता खड्काले चुनढुङ्गा ढुवानीको विवाद समाधान गर्न आगामी सोमबार त्रिपक्षीय छलफल गर्न लागिएको बताउनुभयो । सौर्य सिमेन्टले सुरुमा कटारी–मरुवाखोला–नैनखाडी–गाल्टार सडक प्रयोग गर्ने तयारी गरेको थियो तर पछि मर्जेपुर क्षेत्रका गाउँहरूले सिम्ले–मर्जेपुर–गाल्टार खानी सडक स्थानीय रूपमा प्रयोग गर्न दिने भनेर प्रतिबद्धता व्यक्त गरेपछि प्रयोग गरिएको हो । अहिले मर्जेपुरका गाउँलेले सडक नै प्रयोग गर्न नदिने भन्दै विरोध गरेपछि विवाद बढेको चौरसियाको भनाइ छ ।

उहाँका अनुसार सोही सडकलाई १८ मिटर चौडाइको बनाउने भनेर उद्योगले गरेको आइइई प्रतिवेदन खारेज भएको र विवाद भएपछि त्यो सडक चौडा बनाउने काम पनि रोकिएको छ ।  उदयपुरको कटारी क्षेत्रबाट सिद्धिचरण लोकमार्ग हुँदै मारुती, कसमस र सौर्य सिमेन्टको चुनढुङ्गा ढुवानी हुने गर्छ । दैनिक रूपमा करिब पाँच सयभन्दा बढी टिप्पर चल्ने गरेका छन् । कसमस र सौर्य सिमेन्टका चुनढुङ्गा खानीक्षेत्र उदयपुरको कटारी नगरपालिका र उदयपुरगढी गाउँपालिकामा पर्छन् भने मारुती सिमेन्टको खानीक्षेत्र सिन्धुलीको दुधौली नगरपालिकामा पर्छ ।