इटहरी । बराहक्षेत्र नगरपालिकाले चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई निरन्तरता दिएको छ।
नगर क्षेत्रका पसलहरूमा खाद्यवस्तुको मूल्यमा एकरूपता नभएको र म्याद नाघेका सामग्री बिक्री हुने गरेको जनगुनासो बढेपछि नगरपालिकाले नियमित बजार अनुगमन कार्यक्रमअन्तर्गत चाडपर्वलक्षित अनुगमनलाई तीव्रता दिएको हो। उपभोक्ताको अधिकार सुनिश्चित गर्न बजार अनुगमनलाई प्रभावकारी बनाउने योजनाअनुसार अनुगमनलाई तीव्रता दिइएको नगरपालिकाका प्रशासन शाखा प्रमुख मातृका तिवारीले बताए।
बजारबाट उपभोक्ताले पाउनुपर्ने गुणस्तरीय वस्तु, मूल्यमा एकरूपता, कानुनी प्रमाण, ४० माइक्रोनभन्दा कमका प्लास्टिकका झोलालगायतका विषयमा केन्द्रित भएर बुधबार बराहक्षेत्र नगरपालिका–६ स्थित चक्रघट्टी बजार क्षेत्रमा रहेका पसलहरूको अनुगमन गरिएको हो। अनुगमन टोलीले किराना पसल, होटल, हार्डवेयर पसल, फेन्सी स्टोरलगायतका पसलको अनुगमन गरेको तिवारीले जानकारी दिए।
अनुगमनका क्रममा म्याद नाघेका सामग्री नष्ट गरिएको छ भने त्यस्ता सामग्री बिक्रीका लागि राखेका पसललाई सचेत गराउनुका साथै जरिवाना र कानुनी प्रक्रियासमेत अघि बढाइएको छ। यस्तै, पसल दर्ता प्रक्रिया तथा होटलका किचन क्षेत्रको समेत अनुगमन गरिएको छ। उपभोक्ताको हितविपरीत सञ्चालन भएका पसललाई नियम पालना गर्न सचेत गराइएको र म्याद नाघेका सामग्री राख्ने व्यापारीलाई सचेतना तथा जरिवाना गरिएको नगर उपप्रमुख नन्दकुमारी सुनुवारले बताइन्।
उनका अनुसार म्याद नाघेका सामग्री जफत गरी नष्ट गर्नुका साथै ४० माइक्रोनभन्दा कमका प्लास्टिकका झोला नियन्त्रणमा लिइएको छ। नगर उपप्रमुख सुनुवारको नेतृत्वमा गरिएको अनुगमन टोलीमा प्रमुख प्रशासकीय अधिकृत राधिका गिरी, प्रशासन शाखाका प्रमुख मातृका तिवारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय इनरुवा, सुनसरीका खाद्य अनुसन्धान अधिकृत उज्ज्वल कोइराला, उद्योग वाणिज्य संघ बराहक्षेत्रका प्रतिनिधि, नेपाल प्रहरी, नगर प्रहरी तथा पत्रकारहरूको सहभागिता थियो।


