इटहरी। सुनसरीको वराहक्षेत्र नगरपालिका–१० प्रकाशपुरमा पहिलोपटक रात्रिकालीन फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । ‘प्रथम प्रदीप राई स्मृति प्रकाशपुर गोल्ड कप–२०८३’ प्रतियोगिता असोज २३ गतेदेखि श्री प्रकाश माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुने भएको हो ।
प्रकाशपुर युवा जमातको आयोजनामा हुने प्रतियोगितामा पूर्वी नेपालका आठ वटा फुटबल टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताका खेल साँझ ६ बजेदेखि सुरु हुनेछन् । प्रकाशपुर युवा जमातका अध्यक्ष मनिष मगरका अनुसार वराहक्षेत्र नगरपालिकामै पहिलोपटक रात्रिकालीन फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको हो । दिवङ्गत प्रदीप राईको स्मृतिमा प्रतियोगिता आयोजना गर्न लागिएको उहाँले बताउनुभयो ।
स्मृतिलाई सम्मान, युवालाई अवसर, खेलकुदलाई प्रोत्साहन भन्ने सन्देशका साथ आयोजना हुने प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले दुई लाख २२ हजार २२२ रुपियाँ तथा उपविजेताले एक लाख ११ हजार १११ रुपियाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगितामा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट फरवार्ड, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षकलाई जनही तीन हजार पाँच सय रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । सर्वोत्कृष्ट खेलाडीलाई पाँच हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ ।
विजेता तथा उपविजेता टोलीलाई ट्रफी र खेलाडीलाई मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिताको प्राविधिक सहयोग प्रकाशपुर फुटबल क्लबले गर्ने जनाइएको छ । प्रतियोगिताका लागि करिब ४९ लाख २० हजार ३५५ रुपियाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितालाई सफल बनाउन स्थानीय तह, वडा कार्यालय, व्यवसायी, समाजसेवी, खेलप्रेमी तथा शुभेच्छुकबाट सहयोग जुटाउने काम भइरहेको आयोजकले जनाएको छ । प्रतियोगिताको तयारीबारे जानकारी दिन बराहक्षेत्र–१० को वडा कार्यालय सभाहलमा आयोजित पत्रकार सम्मेलनमा वडाध्यक्ष तेजबहादुर गुरुङ, वडा सदस्य, स्वर्गीय प्रदीप राईका आफन्त, प्रकाशपुर युवा जमातका पदाधिकारी, सञ्चारकर्मी र खेलप्रेमीको सहभागिता रहेको थियो ।


