इटहरी स् सुनसरीमा प्रहरीले छुट्टाछुट्टै स्थानबाट ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ ।

इटहरी उपमहानगरपालिका–१९ अमाहा चोकबाट प्रहरीले बुधबार साँझ स्कुटरसहित एक युवकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा इटहरी–१९ पटेरुवा बस्ने १९ वर्षीय अमन चौधरी रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पीआईटी र प्रहरी चौकी तरहराबाट खटिएको संयुक्त प्रहरी टोलीले पकलीबाट अमाहातर्फ आउँदै गरेको प्रदेश १–०४–००१ प २७९० नम्बरको स्कुटर रोकी जाँच गर्ने क्रममा चौधरीको साथबाट ब्राउनसुगर ५०० मिलिग्राम फेला पारेको प्रहरीले जनाएको छ ।

त्यसैगरी, बराहक्षेत्र नगरपालिका–३ नयाँबस्तीबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी नडाहाबाट खटिएको संयुक्त टोलीले शंका लागेर जाँच गर्दा उनीहरूको साथबाट ८२० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो ।ब्राउनसुगरसहित पक्राउ पर्नेमा बराहक्षेत्र–३ का १८ वर्षीय रमित राजधामी, २२ वर्षीय पुजन राजधामी र १९ वर्षीय समिर राजधामी रहेका छन् । दुवै घटनामा पक्राउ परेकालाई सम्बन्धित प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।