इटहरी स् झापामा सशस्त्र प्रहरीले तीन महिनाको अवधिमा भन्सार छली तथा अवैध चोरी–निकासी र पैठारीका चार करोड १५ लाख रुपैयाँभन्दा बढी मूल्यका सामान बरामद गरेको छ। बरामद सामानसहित चार जनालाई नियन्त्रणमा लिई ३५ वटा सवारीसाधनसमेत आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको छ।
सशस्त्र प्रहरी बल नेपाल नं। २ गण हेडक्वार्टर झापाका अनुसार चालु आर्थिक वर्ष २०८३र८४ को साउनदेखि असोजसम्म चार करोड १५ लाख ६२ हजार ३७३ रुपैयाँ मूल्य बराबरका अवैध सामान बरामद गरिएको हो। गणका अनुसार साउनमा एक करोड ५५ लाख पाँच हजार ६२६ रुपैयाँ, भदौमा एक करोड ४८ लाख एक हजार ८१८ रुपैयाँ र असोजको हालसम्म एक करोड १२ लाख ५४ हजार ९२९ रुपैयाँ मूल्यका सामान बरामद भएका छन्।
गत आर्थिक वर्ष २०८२र८३ को सोही अवधिमा दुई करोड २० लाख ८९ हजार ५७८ रुपैयाँ मूल्य बराबरका अवैध सामान बरामद भएको थियो। अघिल्लो वर्षको तुलनामा चालु आवको सोही अवधिमा बरामद अवैध सामानको मूल्य उल्लेख्य रूपमा बढेको छ। सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यले सीमा क्षेत्रमा हुने भन्सार छली, चोरी–निकासी तथा पैठारी नियन्त्रणका लागि निगरानी र सुरक्षा परिचालन बढाइएको बताए। उनका अनुसार भन्सार, नेपाल प्रहरीलगायत सम्बन्धित निकायसँग समन्वय र सहकार्य गर्दै सीमा क्षेत्रमा अवैध गतिविधि नियन्त्रणलाई प्राथमिकता दिइएको छ। ‘चोरी–निकासी तथा पैठारी नियन्त्रणका लागि सम्बन्धित निकायसँग समन्वय र सहकार्य गर्दै नाकाबाटै अवैध गतिविधि नियन्त्रण हुने गरी परिचालन भइरहेका छौँ,’ कर्माचार्यले भने।
लागुऔषध नियन्त्रणमा पनि निगरानी
सशस्त्र प्रहरीले राजस्व चुहावट नियन्त्रणसँगै सीमा क्षेत्रमा हुने लागुऔषध ओसारपसार नियन्त्रणमा समेत निगरानी बढाएको जनाएको छ। चालु आर्थिक वर्षको हालसम्म झापाका विभिन्न सीमा क्षेत्रबाट ५८ दशमलव ८९ ग्राम खैरो हेरोइन ९ब्राउन सुगर० बरामद गरिएको छ। लागुऔषध ओसारपसारमा संलग्न दुई महिलासहित १५ जनालाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरी बलका सूचना अधिकारी सुजित विष्टले जानकारी दिए।
यसैगरी नदीजन्य पदार्थको नियमविपरीत उत्खनन तथा ओसारपसारमा प्रयोग भएका २६ वटा सवारीसाधन नियन्त्रणमा लिइएको छ। ती सवारीसाधनबाट ६ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको विष्टले बताए। सीमा क्षेत्रमा निगरानी र सुरक्षा परिचालन बढाउँदा अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रणसँगै राजस्व चुहावट न्यूनीकरणमा सहयोग पुगेको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी उपरीक्षक कर्माचार्यले सीमा सुरक्षा, तस्करी नियन्त्रण तथा नागरिकको सेवा र सुरक्षालाई प्राथमिकतामा राखेर काम भइरहेको बताए। सीमा क्षेत्रमा कुनै पनि प्रकारका गैरकानुनी गतिविधि हुन नदिन मातहतका युनिटलाई आवश्यक निर्देशन दिइएको उनले जानकारी दिए।


