इटहरी। तेह्रथुमको आठराई गाउँपालिकाले ज्येष्ठ नागरिक, बालबालिका, बिरामी तथा विद्यार्थीकलक्षित गर्दै नगर बस सञ्चालनमा ल्याएको छ ।

पाँचथको फिदिम नगरपालिकासँगको सहकार्यमा यो गाउँपालिकाले शनिबारदेखि नगर बस सञ्चालनमा ल्याएको हो । बस खरिद र सञ्चालनका सबै प्रक्रिया आठराई गाउँपालिकाले अगाडि बढाएको थियो । बस सञ्चालनका लागि गाउँपालिकाले नगर बस सञ्चालन तथा व्यवस्थापन  कार्यविधिसमेत जारी गरेको छ । जुन बसमा ज्येष्ठ नागरिकका ५ वर्ष मुनीका बालबालिका र परिचय पत्र बाहक विद्यार्थीले निशुल्क यात्रा गर्न पाउने बताइएको छ । अपाङ्गता भएका नागरिकले भने भाडामा ५० प्रतिशत छुट पाउनेछन् ।

बस शनिबारदेखि सञ्चालनमा ल्याएको हो । दैनिक बिहान ८ बजे आठराईबाट छुटेर फिदिम आउने र दिउँसो ३ बजे फर्किने बताइएको छ । बस सेवा सुरु भएसँगै आठराई क्षेत्रका नागरिकलाई जिल्ला सदरमुकाम फिदिम आउजाउ गर्न सहज हुने भएको छ । यसअघि यातायातका साधन नियमित नहुँदा त्यस क्षेत्रका नागरिकले आवतजावतमा समस्या भोग्दै आएका थिए । आठराई क्षेत्रका नागरिक उपचार गर्न पनि पाँचथर अस्पतालसम्म आइपुग्नुपर्ने र गाउँपालिकाले सञ्चालनमा ल्याएको बसबाट आठराई क्षेत्रका नागरिकलाई स्वास्थ सुविधाको पहुँचसम्म पुग्न समेत सहज हुने गाँउपालिका अध्यक्ष दिलकुमार पाहिमले बताउनुभयो ।

बस सेवा शुभारम्भमा दुई स्थानीय तहबिचको सहकार्य र साझेदारीबाट नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने गरी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ  ।  स्थानीय तहले नागरिकका दैनिक आवश्यकतासँग जोडिएका सेवा तथा पूर्वाधार विकासमा सहकार्य गर्दै अघि बढ्दा त्यसको प्रत्यक्ष लाभ सर्वसाधारणले पाउने बताइएको छ । नियमित बस सेवाले फिदिम र आठराईबिचको सम्बन्धलाई थप नजिक बनाउँदै दुई क्षेत्रको आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ । नागरिकको आवागमनलाई सहज, सुरक्षित र नियमित बनाउने यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाइएको छ ।