इटहरी स् नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर २ को रोकिएको क्षेत्रीय निर्वाचन तत्काल पुनः सञ्चालन गर्न माग गर्दै क्षेत्रीय सभापति पदका उम्मेदवार सुदिप अधिकारीले निर्वाचन समितिमा औपचारिक उजुरी दर्ता गराएका छन्।

रोकिएको निर्वाचन पुनः गराउनुपर्ने मागसँगै क्षेत्रीय समिति गठन नहुँदै महाधिवेशन प्रतिनिधि छनोट गरिएको भए त्यसको वैधानिकतामाथि समेत अधिकारीले प्रश्न उठाएका छन्। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १५ गते इनरुवास्थित सत्य साई पार्टी प्यालेसमा क्षेत्रीय सभापति चयनका लागि मतदान सुरु भएको थियो। सहमतिबाट नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि लोकतान्त्रिक प्रक्रियाअनुसार मतदान सुरु गरिएको थियो। तर मतदान भइरहेका बेला दिउँसो करिब १२ बजेतिर विवाद र असहज परिस्थिति सिर्जना भएपछि निर्वाचन प्रक्रिया स्थगित भएको अधिकारीले बताएका छन्।

उनका अनुसार मतदान स्थगित गर्दा उम्मेदवारहरूबीच पुनः निर्वाचन गराउने विषयमा सहमति बनेको थियो। तर, स्थगित निर्वाचनलाई निरन्तरता दिनुको सट्टा अन्य प्रक्रियाबाट नेतृत्व तथा महाधिवेशन प्रतिनिधि चयन गर्ने प्रयास भएको भन्दै उनले आपत्ति जनाएका छन्। कांग्रेसको १५औँ महाधिवेशन काठमाडौंमा सुरु हुन लागिरहेका बेला सुनसरी–२ को क्षेत्रीय निर्वाचन अझै टुंगिन नसकेको विषयलाई लिएर पार्टीभित्र विवाद चर्किएको छ। अधिकारीले क्षेत्रीय समितिको निर्वाचन नै सम्पन्न नभई महाधिवेशन प्रतिनिधि छनोट गर्ने प्रक्रिया अघि बढाइएको भए त्यसको वैधानिकता स्पष्ट गर्नुपर्ने बताएका छन्। उनले निर्वाचन समितिले हालसम्म कसैलाई आधिकारिक प्रमाणपत्र नदिएको जानकारी दिँदै प्रक्रिया पूरा नगरी गरिने कुनै पनि घोषणा वा निर्णयलाई आफूहरूले स्वीकार नगर्ने बताए।

‘टावर पर्सनालिटी हार्ने डरले निर्वाचन रोकियो’

मतदान स्थगित हुनुको कारणबारे अधिकारीले पार्टीभित्र प्रभावशाली मानिएका ‘टावर पर्सनालिटी’ हार्ने डरसमेत हुनसक्ने आरोप लगाए। उनले क्षेत्रीय अधिवेशनलाई व्यक्तिको प्रतिष्ठा वा जितहारसँग जोडेर हेर्न नहुने बताए। उनले आफू कुनै व्यक्तिविशेषको विरोधमा नभएको स्पष्ट पार्दै पार्टीको आन्तरिक निर्वाचन निष्पक्ष, पारदर्शी र विधिसम्मत हुनुपर्ने पक्षमा मात्र आफू उभिएको बताए।

‘बदलिएको कांग्रेस’को बहस

अधिकारीले कांग्रेसभित्र विधि, विधान र पद्धतिको कुरा गरिए पनि व्यवहारमा त्यसको पालना हुनुपर्ने बताए। निर्वाचन प्रक्रिया नै पूरा नगरी नेतृत्व वा प्रतिनिधि चयन गर्ने अभ्यासले पार्टीभित्र खोजिएको परिवर्तन व्यवहारमा देखिन नसक्ने उनको टिप्पणी छ। उनले विधान, पद्धति र रूपान्तरणको एजेन्डालाई स्वीकार गरेर पार्टीभित्र परिवर्तन खोज्नेहरूका लागि निर्वाचन प्रक्रिया पनि त्यहीअनुसार पारदर्शी र लोकतान्त्रिक हुनुपर्ने बताए।

पुनः मतदानको माग

अधिकारीले सुनसरी–२ का मतदाता तथा कार्यकर्ताको मताधिकार सुनिश्चित गर्न तत्काल पुनः निर्वाचनको मिति तोक्न माग गरेका छन्। उनले रोकिएको निर्वाचनलाई निरन्तरता दिएर निष्पक्ष, स्वतन्त्र र पारदर्शी रूपमा निर्वाचन सम्पन्न गर्नुपर्ने बताएका छन्। उनले आफ्नो उजुरीको बोधार्थ नेपाली कांग्रेस सुनसरी जिल्ला कार्यसमिति, सम्बन्धित निर्वाचन समिति तथा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिलाई समेत दिएको बताएका छन्। सुनसरी–२ मा रोकिएको क्षेत्रीय निर्वाचन पुनः सञ्चालन गर्ने विषयसँगै क्षेत्रीय समिति गठन र महाधिवेशन प्रतिनिधि छनोटको प्रक्रियालाई लिएर उठेको प्रश्नले कांग्रेसको १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा स्थानीय तहको विवादलाई थप पेचिलो बनाएको छ।