इटहरी स् नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मोरङ क्षेत्र नम्बर ५ बाट महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित ३० वर्षीय मोजाहिद हकले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्।
विराटनगर–१७ निवासी हकले ३५ वर्षमुनिको युवा समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने बताएका हुन्। कांग्रेसको संशोधित विधानअनुसार ३५ वर्षमुनिका युवा महाधिवेशन प्रतिनिधिमध्ये प्रत्येक प्रदेशबाट एक महिलासहित दुई जना र खुलातर्फ सात जना गरी २१ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ। करिब डेढ दशकदेखि कांग्रेसको राजनीतिमा सक्रिय हक विद्यार्थी जीवनदेखि नै पार्टीका संगठनात्मक गतिविधिमा जोडिँदै आएका छन्। पार्टीका विभिन्न अभियानसँगै सामाजिक गतिविधिमा समेत उनको सक्रियता रहँदै आएको छ।
मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्ने हकले युवा नेतृत्वमा सबै समुदायको अपनत्व सुनिश्चित गर्न आफूले उम्मेदवारी घोषणा गरेको बताएका छन्। ‘युवा केन्द्रीय सदस्यमा सबै समुदायको अपनत्व हुनुपर्छ भन्ने मान्यताका साथ मैले उम्मेदवारी दिएको हुँ,’ उनले भने, ‘३५ वर्षमुनिका युवा केन्द्रीय सदस्यका रूपमा निर्वाचित गराउन सबै महाधिवेशन प्रतिनिधिसँग सहयोगको अपिल गर्दछु।’
हक सामाजिक क्षेत्रमा पनि सक्रिय छन्। उनी लियो तथा लायन्स क्लब, करिब फाउन्डेसन, युथ युनिटी क्लब अफ नेपाल र फिड द निड नेपाल क्लबलगायत संस्थामार्फत विभिन्न सामाजिक गतिविधिमा सहभागी हुँदै आएका छन्। कांग्रेसले १५औँ महाधिवेशनबाट पार्टीको केन्द्रीय संरचनामा युवा सहभागिता बढाउने उद्देश्यले ३५ वर्षमुनिका युवाका लागि छुट्टै प्रतिनिधित्वको व्यवस्था गरेको छ। मोरङ–५ बाट महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएपछि हकले युवाका मुद्दासँगै समुदायको प्रतिनिधित्व र सामाजिक सरोकारका विषयलाई पार्टीको केन्द्रीय तहमा प्रभावकारी रूपमा उठाउने बताएका छन्।


