इटहरी स् कनकाई नगरपालिका–८ का अपाङ्गता भएका ८ वर्षीय बालक सत्यम पौडेललाई ह्वीलचेयर प्रदान गरिएको छ।
बालकको अवस्था र आवश्यकतालाई मध्यनजर गर्दै कनकाई नगरपालिकाको महिला तथा बालबालिका शाखाले सहायक सामग्रीका रूपमा ह्वीलचेयर उपलब्ध गराएको हो। ह्वीलचेयर वितरण कार्यक्रममा नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटी, महिला तथा बालबालिका शाखा प्रमुख तुलसा थापालगायत कर्मचारीको उपस्थिति थियो। कनकाई नगरपालिका, प्रदेश सरकार र करुणा फाउण्डेसनबीचको त्रिपक्षीय साझेदारीमा नगर क्षेत्रमा रहेका अपाङ्गता भएका व्यक्तिलाई आवश्यकताका आधारमा सहायक सामग्री वितरण हुँदै आएको छ।
सोही कार्यक्रमको निरन्तरतास्वरूप सत्यमलाई ह्वीलचेयर प्रदान गरिएको नगरपालिकाले जनाएको छ। सहायक सामग्रीले अपाङ्गता भएका व्यक्तिको दैनिक जीवन सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।


