इटहरी। कोशी प्रदेशको इटहरीमा सञ्चालन भइरहेको सातदिने रोजगार मेलामा रोजगारीको खोजीमा रहेका युवाको आकर्षण बढेको छ। नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा इटहरीस्थित सोल्टी होटलको प्राङ्गणमा सञ्चालित मेलामा रोजगारी खोज्ने युवा, विद्यार्थी, वैदेशिक रोजगारीबाट फर्किएका व्यक्ति तथा विभिन्न क्षेत्रका रोजगारदाताको सहभागिता रहेको छ।
मेलामा सूचना प्रविधि, हस्तकला, होटल तथा पर्यटन, प्राविधिक सीप, घरेलु व्यवसाय र वैदेशिक रोजगारीलगायतका क्षेत्रमा रोजगारी तथा सीपका अवसरबारे जानकारी दिने व्यवस्था गरिएको छ। सीप विकासका लागि विभिन्न तालिममा आवेदन दिन सकिने आयोजकले जनाएको छ। रामधुनी–४ का ३६ वर्षीय राजकिशोर मेहता रोजगारी तथा सीपको अवसर खोज्दै मेलामा पुग्नुभएको छ। एसी मेकानिकको तालिम लिएका उहाँले प्लम्बिङ क्षेत्रमा काम गर्न चाहेकाले रोजगारीका अवसरबारे बुझ्न मेला आएको बताउनुभयो। “सीप सिकेर दक्ष जनशक्ति बन्न सकियो भने रोजगारीका अवसर बढ्छन् भन्ने लागेर आएको हुँ,” उहाँले भन्नुभयो।
इनरुवाका २० वर्षीय बुद्धशरण पण्डित स्नातक तहमा अध्ययनरत हुनुहुन्छ। पहिलोपटक रोजगार मेलामा सहभागी हुनुभएका उहाँले अध्ययनसँगै थप सीप सिक्ने अवसर खोजिरहेको बताउनुभयो। त्यस्तै, इटहरीको जनता क्याम्पसमा अध्ययनरत तेह्रथुमका प्रवेश कार्कीले सीप तालिम र रोजगारीका लागि आवेदन दिने व्यवस्था रहेकाले मेला उपयोगी लागेको बताउनुभयो। रामधुनी–६ की लिजा चौधरी स्नातक तहको अध्ययन पूरा गरेपछि रोजगारी खोज्दै मेलामा पुग्नुभएको हो। उहाँले निःशुल्क सीप तालिम तथा लेखा क्षेत्रमा रोजगारीका अवसरबारे जानकारी लिन मेला आएको बताउनुभयो।
स्थानीय दीपेन्द्र केसीले रोजगारदाता र रोजगारी खोज्ने युवाबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्न मेला उपयोगी भएको बताउनुभयो। उहाँका अनुसार यस्ता कार्यक्रमले रोजगारी सिर्जना, स्वरोजगार प्रवद्र्धन र आवश्यक दक्ष जनशक्ति उत्पादनमा सहयोग पुर्याउँछन्। रोजगारदाता र रोजगारी खोज्नेहरूलाई एउटै स्थानमा ल्याएर आवश्यक सीप तथा रोजगारीका अवसरबारे जानकारी गराउनु मेलाको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ। मेलामा ७५ भन्दा बढी स्टल राखिएका छन्। विभिन्न कम्पनी, उद्योग तथा व्यावसायिक संस्थाले आवश्यक जनशक्ति र सीपबारे जानकारी दिनुका साथै रोजगारीका लागि आवेदनसमेत लिइरहेका छन्।
असोज २० गतेसम्म सञ्चालन हुने मेलामा १० विधामा अल्पकालीन सीपमूलक तालिम सञ्चालन गरिनेछ। उद्यमशीलता विकास तथा व्यावसायिक योजना, बारिस्टा, अचार बनाउने, मेकअप तथा नेल आर्ट, आतिथ्य सत्कार तथा सञ्चार कला, कुक तथा वेटर, आधारभूत लेखा, सिटी सफारी तथा विद्युतीय सवारी ९ईभी० मर्मत र एसी मर्मतलगायतका तालिम सञ्चालन हुने आयोजकले जनाएको छ।


