इटहरी। सङ्घीय सरकारका श्रम तथा रोजगारमन्त्री रामजी यादवले देशको श्रम र रोजगारसहित स्थानीय समस्या समाधानमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । सुनसरीको देवानगन्ज गाउँपालिकामा आयोजित सहिदप्रति श्रद्धाञ्जली तथा स्थानीय जनप्रतिनिधिसँगको छलफलमा उहाँले यस्तो बताउनुभएको हो । मन्त्री यादवले साउन १० को गोलीकाण्डमा निधन भएका सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै स्थानीय समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

​मन्त्री यादवले कप्तानगन्जस्थित श्रीरामचोक तथा सहिदचोक पुगेर सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो । उहाँले प्रतिनिधि तथा स्थानीय तहका नेतृत्वबाट उठाइएका विषयलाई सम्बोधन गर्दै आफ्नो मन्त्रालय र सरकारले गर्ने कामहरू प्राथमिकतासाथ गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सम्बोधनका क्रममा उहाँले श्रम, रोजगार तथा स्थानीय विकासका प्राथमिकताबारे स्पष्ट पार्दै ती समस्या शीघ्र र प्राथमिकतासाथ समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ​

छलफलका क्रममा प्रतिनिधि सभा सदस्य लालविक्रम थापा, देवानगन्ज गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद मेहतालगायतका स्थानीय जनप्रतिनिधिले मन्त्री यादवलाई देवानगन्ज क्षेत्रका मुख्य समस्या, पूर्वाधार विकासको अवस्था, श्रम तथा रोजगारीका चुनौतीबारे ध्यानाकर्षण गराउनुभएको थियो । देवानगन्ज गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद मेहताले मन्त्रीको यो भ्रमणले सिङ्गो देवानगन्जवासीमा नयाँ आशा र उत्साह थपेको बताउनुभयो ।