इटहरी। सुनसरीको धरानस्थित विजयपुर क्षेत्रमा रहेका पिण्डेश्वर, बुढासुब्बा र दन्तकाली मन्दिरमा दर्शन तथा पूजाआराधनाका लागि आन्तरिक धार्मिक पर्यटकको आगमन बढ्दै गएको छ । पौराणिक, धार्मिक तथा सांस्कृतिक महìव बोकेका यी मन्दिरमा नेपालका विभिन्न जिल्लाबाट मात्र नभई भारत र भुटानबाट समेत श्रद्धालु आउने गरेका छन् ।
पर्यटन अभियन्ता वासु बरालका अनुसार पौराणिक तथा धार्मिक महìवका कारण धरानका यी तीन वटै मन्दिरमा आन्तरिक र बाह्य पर्यटकको आकर्षण बढदै गएको छ । उहाँका अनुसार वार्षिक रूपमा पाँचदेखि आठ लाखसम्म मानिस पिण्डेश्वर, बुढासुब्बा र दन्तकाली मन्दिरमा दर्शनका लागि आउने गरेका छन् । पौराणिक धार्मिक महìव र जनविश्वासका कारण यी मन्दिरमा दर्शन तथा भाकल गर्न आउनेको सङ्ख्या बढेको छ । यसले धरानको धार्मिक पर्यटनलाई चलायमान बनाउन महìवपूर्ण भूमिका खेलेको अभियन्ता बराल बताउनुहुन्छ । पिण्डेश्वर मन्दिरमा दैनिक औसत एक हजारदेखि एक हजार पाँच सयसम्म दर्शनार्थी आउने गरेको पिण्डेश्वर बाबाधाम व्यवस्थापन समितिका अध्यक्ष विकास वनेपालिकाले बताउनुभयो । उहाँका अनुसार बिहानदेखि बेलुकासम्म नै पूजा हुने भएकाले मन्दिरपरिसरमा दिनभर दर्शनार्थीको चहलपहल हुने गरेको छ । पितृको स्मरणमा श्राद्ध गर्न आउनेको सङ्ख्या पनि उल्लेख्य रहेको उहाँले बताउनुभयो ।
धरानको विजयपुर क्षेत्रमा रहेको पिण्डेश्वर महादेवलाई रुद्राक्षारण्यका प्रधान देवताका रूपमा धार्मिक ग्रन्थ तथा स्थानीय धार्मिक आख्यानमा वर्णन गरिएको छ । पौराणिक कथन अनुसार त्रिपुरासुरको वधपछि भगवान् शिवले विजयपुर क्षेत्रमा विश्राम गरी पिण्डेश्वर महादेवको स्थापना गर्नुभएको धार्मिक विश्वास गरेर श्रद्धालु दर्शनका लागी आउने गरेको पिण्डेश्वर बाबाधाम व्यवस्थापन समितिले जनाएको छ । पिण्डेश्वरमा विशेष गरी साउनको बोलबम, महाशिवरात्री, तिज, माघेसङ्व्रmान्ति, कात्तिक पूर्णिमालगायतका अवसरमा आन्तरिक धार्मिक पर्यटकको ठुलो भिड लाग्ने गरेको छ । चतराधामबाट सप्तकोशीको जल ल्याएर पिण्डेश्वरमा चढाउने धार्मिक परम्पराका कारण बोलबमका समयमा देशका विभिन्न स्थानबाट भक्तजन आउने गरेको बताइएको छ ।
बुढासुब्बा मन्दिरमा दैनिक पाँच सयभन्दा बढी दर्शनार्थी आउने गरेको बताइएको छ । मन्दिरका पुजारी डम्बर आलेमगरका अनुसार शनिबार र मङ्गलबार भने भक्तजन धेरै आउने गरेको छन् । हिन्दु, किराँत, बुद्ध समुदायका मानिस बुढासुब्बा मन्दिर पुग्ने गरेका बताइएको छ । बुढासुब्बा मन्दिरका पुजारी आलेमगरका अनुसार यहाँ मगर समुदायका पुजारीले १८ औँ पुस्तादेखि पूजा गर्दै आएको बताउनुभयो । मन्दिरको मुख्य आम्दानी भेटीबाट हुने गरेको उहाँको भनाइ छ । शनिबार र मङ्गलबार सात हजारदेखि १० हजार रुपियाँसम्म भेटी सङ्कलन हुने गरेको बताइएको छ ।
दन्तकाली मन्दिरमा पनि नियमित रूपमा दर्शनार्थीको चहलपहल हुने गरेको छ । मन्दिरका पुजारी कमल भट्टराईका अनुसार सामान्य दिनमा दैनिक दुई सयभन्दा बढी र शनिबार तथा मङ्गलबार पाँच सयदेखि सात सयसम्म दर्शनार्थी आउने गरेका छन् । दसैँको नवरात्रका समयमा भने दर्शनार्थीको सङ्ख्या बढ्ने गरेको छ । मन्दिरका पुजारी भट्टराईका अनुसार स्वस्थानी व्रतकथा तथा पुराणमा उल्लेख भएकाले मन्दिरको धार्मिक महìव टाढा टाढासम्म फैलिएको छ । नेपालका विभिन्न स्थानका साथै भारतबाट समेत दर्शनार्थी आउने गरेको उहाँले बताउनुभयो ।
धरानको विजयपुरडाँडामा रहेका यी मन्दिर धार्मिक आस्थाका केन्द्र मात्र नभई पर्यटनका दृष्टिले पनि महìवपूर्ण बन्दै गएका छन् । पिण्डेश्वर, दन्तकाली र बुढासुब्बासँगै विजयपुर क्षेत्रमा रहेका अन्य धार्मिक तथा ऐतिहासिक स्थललाई एकीकृत रूपमा विकास गर्न सके धार्मिक पर्यटकको आगमन अझ बढ्न सक्ने पर्यटन अभियन्ता वासु बराल बताउनुहुन्छ ।


