इटहरी। विराटनगर बसपार्क क्षेत्रका विभिन्न होटलमा प्रहरीले सोमबार आकस्मिक अनुगमन तथा छापा मारेको छ। शंकास्पद गतिविधि भइरहेको सूचनाका आधारमा गरिएको कारबाहीका क्रममा १७ जना युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार बसपार्क आसपासका केही होटलमा कानुनविपरीत गतिविधि भइरहेको सूचना प्राप्त भएपछि केही समयदेखि निगरानी बढाइएको थियो। सोही क्रममा विभिन्न होटलमा एकैपटक गरिएको अनुगमनका क्रममा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिइएका युवतीहरूको नाम र ठेगाना भने प्रहरीले सार्वजनिक गरेको छैन। उनीहरूलाई वडा प्रहरी कार्यालय विराटनगरमा राखेर आवश्यक सोधपुछ तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बसपार्क क्षेत्रका केही होटलमा यौनजन्य गतिविधि हुने गरेको भन्दै स्थानीयवासीले लामो समयदेखि प्रहरीसमक्ष गुनासो गर्दै आएको बताइएको छ। प्राप्त सूचनाका आधारमा छापा मारिएको प्रहरीको भनाइ छ। छापापछि प्रहरीले होटल सञ्चालक तथा व्यवसायीलाई कानुनविपरीत गतिविधि हुन नदिन सचेत रहन आग्रह गरेको छ। बसपार्क क्षेत्रलाई सुरक्षित र व्यवस्थित बनाउन आगामी दिनमा पनि निगरानी तथा अनुगमनलाई निरन्तरता दिने प्रहरीले जनाएको छ।


