इटहरी स् यहाँको सुदूर उत्तरी याङवरक गाउँपालिका वडा नं। १ ठिङ्गेपुरका सुकबहादुर बेघाको घरको आँगनसम्मै अलैँचीखेती गरिएको छ । घुर्‍यानसम्म अलैँची लगाएका बेघाले पछिल्ला दिनमा धान र मकैखेती गर्न छोडेका छन् ।

सुकबहादुरका छिमेकी धनमाया बेघाको पनि करेसाबारीमा अलैँचीखेती छ । सबै ठाउँमा अलैँची नै लगाएको धनमाया बताउँछिन् । सोही वडाको बिरुवाका बालनन्द बेघाको पनि आँगनसम्मै अलैँचीखेती छ । बजारमा राम्रो मूल्य पाउँदा दुर्गम ग्रामीण भेगका किसानले मुख्य बालीका रुपमा अलैँचीलाई विस्तार गरिरहेका छन् । धान, मकै र कोदो फल्ने खेतबारी मासेर अलैँचीको खेती विस्तार गरेका सुकबहादुर बेघा अलैँचीलाई घर परिवारलाई बढी माया गर्ने गरेको बताउँछन् । अलैँची फलाउने कृषकले स्थानीय ग्रामीण बजारबाट वर्षैभरि सामग्री खरिद गर्दा बाँकी पाउने गरेको बेघाको भनाइ छ ।

अलैँचीबाट जीविकोपार्जन सहज भएपछि कृषकले मुख्य प्राथमिकता दिएका छन् । सुकबहादुर अलैँची नै कृषकको इज्जत भएको बताउँछन् । कृषक अलैँचीखेतीमा आकर्षित हुनुमा अलैँचीको मूल्य राम्रो हुनु पनि मुख्य कारण हो । गत वर्षदेखि अलैँची प्रतिमन ९प्रति ४० किलो० ८० हजार रुपैयाँभन्दा बढी मूल्यमा बिक्री भइरहेको छ । धनमाया बेघाले पनि खेतबारी मासेर अलैँची विस्तार गरेका छन् । अविरल वर्षापछि गत जेठ ८ गते पहिरो झरेर धनमायाको खोलाखोल्सीमा रहेको अलैँचीको मुख्य बगान बगाइदियो । बिरुवाकै पूर्णबहादुर बेघा धान, मकै, कोदोखेती गर्दा लागत पनि नउठ्ने भएकाले धेरै किसान अलैँचीतर्फ आकर्षित भएका छन् ।

सोही वडाको चाम्लिङडाँडाका रामकुमार राईको विसं २०८० असार र गत जेठमा पहिरो झरेर झण्डै ३० मन अलैँची फल्ने बारी बगाएको छ । अलैँची उत्पादन नभएपछि आयस्रोतको अन्य कुनै बाटो बाँकी नरहने राईको भनाइ छ । पाँचथरमा आर्थिक वर्ष २०८२।८३ मा कुल तीन हजार ३२६ हेक्टर क्षेत्रफलमा अलैँचीखेती गरिएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । यस्तै, कुल एक हजार ३९६।९२ मेट्रिकटन अलैँची उत्पादन भएको कृषि ज्ञान केन्द्र पाँचथरका कृषि प्रसार अधिकृत प्रदीप नेपालीले जानकारी दिए ।