इटहरी स् सुनसरीको धरान उपमहानगरपालिका–१५ आरालाईनमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

प्रहरीका अनुसार मंगलबार बिहान करिब १ः०५ बजे श्यामचोकबाट पुरानो बसपार्कतर्फ जाँदै गरेको को ३५ प ४११५ नम्बरको बुलेट मोटरसाइकल सडक छेउमा रहेको मासु पसलको पर्खालमा ठोक्किएको थियो। र्घटनामा करिब ३०–३१ वर्षीय पुरुष गम्भीर घाइते भएका थिए। घटनास्थलमा पुगेको प्रहरीले तत्काल उद्धार गरी एम्बुलेन्समार्फत उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याएको थियो। अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

मृतकको साथबाट पहिचान खुल्ने कुनै कागजात फेला नपरेको प्रहरीले जनाएको छ। समाचार तयार पार्दासम्म मृतकको नाम, थर र ठेगाना खुलेको छैन। प्रहरीले उनको पहिचानका लागि आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ। दुर्घटनामा परेको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।