इटहरी स् नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उदयपुर क्षेत्र नं। १ को क्षेत्रीय सभापतिमा खगेन्द्र राई निर्वाचित भएका छन्। क्षेत्रीय सहसचिवमा डेभिड बस्नेत निर्वाचित हुँदा क्षेत्र नं। १ अन्तर्गत प्रदेशसभा ‘ख’को सभापतिमा सरोज बस्नेत विजयी भएका छन्।

क्षेत्रीय सभापतिका लागि भएको निर्वाचनमा १ हजार २४ मतदाता रहेकामा ९ सय ३२ मत खसेको थियो। राईले ६ सय १८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी राकेश खत्रीले २ सय ८४ मत पाए। राई ३ सय ३४ मतको अन्तरले निर्वाचित भएका हुन्। क्षेत्रीय सहसचिवमा डेभिड बस्नेतले ५ सय १५ मत प्राप्त गरी निर्वाचित भए। उनकी प्रतिस्पर्धी अम्बिका निरौलाले ३ सय ४१ मत पाइन्। बस्नेत १ सय ७४ मतको अन्तरले विजयी भएका हुन्।

यस्तै, प्रदेशसभा ‘ख’को सभापतिमा सरोज बस्नेत निर्वाचित भएका छन्। ५ सय १६ मतदाता रहेको प्रदेशसभा ‘ख’मा ४ सय ९४ मत खसेको थियो। बस्नेतले ३ सय ४३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नरेन्द्र थापाले १ सय ३० मत प्राप्त गरे। प्रदेशसभा ‘ख’को दलित प्रदेश प्रतिनिधिमा कल्पना मोते निर्वाचित भएकी छन्। उनले २ सय ९४ मत प्राप्त गर्दा प्रतिस्पर्धी अनुपम शिवाले १ सय ४२ मत पाए।

क्षेत्रीय सभापति, सहसचिव तथा प्रदेशसभा ‘ख’को सभापति र दलित प्रदेश प्रतिनिधि पदमा निर्वाचन भएको थियो। अन्य पदमा भने प्रतिनिधिहरू सर्वसम्मत रूपमा चयन भएको जनाइएको छ। निर्वाचन परिणाम सार्वजनिक भएसँगै उदयपुर क्षेत्र नं। १ मा कांग्रेसको क्षेत्रीय तथा प्रदेशस्तरीय नेतृत्व चयन प्रक्रिया सम्पन्न भएको छ।