इटहरी। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सचेतक प्रकाशचन्द्र परियारले सुनसरीको इटहरी उपमहानगरपालिका–२० तरहरास्थित ‘श्री बाल बहुभाषीय आधारभूत विद्यालय’को दयनीय अवस्थाबारे प्रतिनिधिसभाको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद परियारले देशकै पहिलो ऐतिहासिक बहुभाषिक विद्यालय अहिले स्थानीय सरकारको उपेक्षा, आन्तरिक अव्यवस्था र दलीय राजनीतिको सिकार बनेको बताए । वि।सं। २०५१ सालमा तत्कालीन प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीबाट उद्घाटन भएको उक्त विद्यालय नेपालका सबै जातजातिको भाषा र संस्कृति संरक्षण गर्ने ऐतिहासिक धरोहर भए पनि पछिल्लो समय भौतिक तथा व्यवस्थापकीय संकटबाट गुज्रिरहेको परियारको भनाइ थियो । सदनमा बोल्दै सचेतक परियारले नर्सरीदेखि कक्षा ८ सम्म सञ्चालित विद्यालयमा हाल ५५ जना बालबालिका मात्र अध्ययनरत रहेको जानकारी दिए ।

५५ जना विद्यार्थीका लागि ३ जना स्थायी, ३ जना राहत, २ जना अनुदान, २ जना निजी स्रोतका शिक्षक र १ जना कर्मचारी गरी ११ जनाको दरबन्दी तथा जनशक्ति कायम रहे पनि पठनपाठन भने गम्भीर रूपमा प्रभावित भइरहेको उनले बताए । विद्यार्थी सङ्ख्याको तुलनामा पर्याप्त जनशक्ति हुँदाहुँदै पनि आन्तरिक व्यवस्थापकीय कमजोरी र शिक्षकहरूको लापरवाहीका कारण शैक्षिक गुणस्तर खस्कँदै गएको उनले बताए । विद्यालयको भौतिक पूर्वाधारको अवस्था अत्यन्तै नाजुक रहेको उल्लेख गर्दै सांसद परियारले विद्यालय प्रवेश गर्ने मुख्य बाटो हिलाम्मे रहेको, बालबालिकाका लागि खेलमैदानको अभाव भएको र भवनहरू जीर्ण बनेको विषय सदनसमक्ष राखे ।

स्थानीय सरकारका रूपमा रहेको इटहरी उपमहानगरपालिकाबाट विद्यालयको संरक्षण र स्तरोन्नतिका लागि आवश्यक सहयोग प्राप्त हुन नसकेको उनको आरोप छ । भाषा र संस्कृतिको नमुना केन्द्र बन्नुपर्ने विद्यालयलाई पछिल्लो समय राजनीतिक दलहरूको क्रिडास्थल बनाइएको भन्दै उनले चिन्ता व्यक्त गरे । विद्यालयलाई पूर्ण रूपमा राजनीतिमुक्त बनाएर पठनपाठनमा अनुशासन कायम गराउनुपर्नेमा उनले जोड दिए । सांसद परियारले ऐतिहासिक पहिचान बोकेको यस विद्यालयको स्तरोन्नति गर्न, आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न र पठनपाठनको वातावरण सहज बनाउन स्थानीय सरकार तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग अनुरोध गरेका छन् ।