इटहरी। ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाअन्तर्गत खोक्लिङ–लिवाङ–साँवा–पापुङ सडक स्तरोन्नतिका लागि स्थानीय युवाले पहल थालेका छन् ।लामो समयदेखि ठुला तथा मालवाहक सवारीसाधन सहज रूपमा सञ्चालन हुन नसकेको सडकलाई तत्काल सञ्चालनयोग्य बनाउने उद्देश्यले युवाले सरोकारवाला निकायबिच समन्वय र सहजीकरणका लागि समिति गठन गरेका हुन् ।किरण लिवाङको अध्यक्षतामा १५ सदस्यीय सडक सरोकार समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा नुपु शेर्पा, सचिवमा मिथुन साँवा तथा सदस्यमा राजन कार्की, दोर्ची शेर्पा, रनध्वोज थलङ, अजय थलङ, नरेश साँवा, सूर्य लिम्बू, रिमोश लिम्बू, सिंहमान साँवा, प्रणय थलङ, मोतिहाङ थलङ, दावा छेतेन शेर्पा र सुरेन्द्र लिम्बू रहनुभएको छ ।

सरोकार समितिले सडक स्तरोन्नतिका लागि अघि सारेको प्रस्तावलाई सकारात्मक रूपमा लिँदै निर्माण कार्य तत्काल सुरु गर्ने विषयमा सहमति भएको शेर्पाले बताउनुभयो । उहाँका अनुसार सडक स्तरोन्नति भएपछि स्थानीयवासीसँगै गाउँपालिकाभित्र सञ्चालित जलविद्युत् आयोजनालाई समेत सहज हुने अपेक्षा गरिएको छ ।समितिका पदाधिकारी तथा सदस्य व्यक्तिगत रूपमा सडक निर्माण, ठेक्का वा अन्य निर्माणसम्बन्धी काममा प्रत्यक्ष संलग्न हुन नहुने प्रस्तावसमेत गरिएको छ । स्वार्थको द्वन्द्व र विवाद हुन सक्ने भएकाले समितिले निष्पक्ष रूपमा अनुगमन, समन्वय र सहजीकरणमा मात्र केन्द्रित हुने शेर्पाले बताउनुभयो ।

१० वर्षभन्दा लामो समय बितिसक्दा पनि खोक्लिङ–लिवाङ–साँवा–पापुङ सडकमा ठुला तथा मालवाहक सवारीसाधन सहज रूपमा सञ्चालन हुन सकेका छैनन् । सडकको अवस्था कमजोर हुँदा स्थानीयवासीसँगै जलविद्युत् आयोजना, व्यवसायी र अन्य सेवाग्राही प्रभावित हुँदै आएका छन् ।सदरमुकाम फुङ्लिङबाट करिब ३८ किलोमिटर दूरीमा रहेको पर्यटकीय क्षेत्र फुङ्फुङ्गे झरना पुग्ने मुख्य मार्गसमेत यही सडक हो । सडक स्तरोन्नति नहुँदा फुङ्फुङ्गे झरना तथा गाउँपालिकाका विभिन्न क्षेत्रको आवतजावतमा समेत समस्या हुँदै आएको छ ।