इटहरी। इटहरीमा सम्पन्न प्रथम तालतलैया गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मोरङको शतिसाले फुटबल क्लबले जितेको छ ।  इटहरी–२ स्थित बुढासुब्बा खेलमैदानमा शनिबार सम्पन्न फाइनल खेलमा शतिसालेले उदयपुरको फ्युजन फुटबल क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो शतिसालेका लागि विनोद राईले पहिलो हाफको ३४औँ मिनेटमा गोल गर्दै अग्रता दिलाउनुभएको थियो । दोस्रो हाफमा विकास परियारले ३१औँ र साजन बर्देवाले ३७औँ मिनेटमा गोल गर्दै जित सुनिश्चित गर्नुभएको हो । 

उपाधिसँगै शतिसालेले ट्रफीसहित नगद एक लाख ११ हजार १११ रुपियाँ प्राप्त गरेको छ भने उपविजेता फ्युजन फुटबल क्लबले ट्रफीसहित नगद ५५ हजार ५५५ रुपियाँमा चित्त बुझाएको आयोजक तालतलैया फुटबल क्लबका सचिव रोशन भुजेलले जानकारी दिनुभयो । खेलमा फ्युजन फुटबल क्लबका निश्चल मोक्तान म्यान अफ द म्याच घोषित हुँदै नगद दुई हजार र ट्रफी प्राप्त गरे ।  प्रतियोगितामा शतिसालेका विपुल मगर उत्कृष्ट गोलकिपर, सञ्जय श्रेष्ठ उत्कृष्ट डिफेन्डर, विकास परियार उत्कृष्ट मिडफिल्डर र विनोद राई उत्कृष्ट फरवार्ड घोषित हुनुभयो । शतिसालेकै शुरेन मगर उत्कृष्ट प्रशिक्षक घोषित हुनभयो ।

त्यस्तै, आयोजक तालतलैया फुटबल क्लबका आरोश चौधरी राइजिङ प्लेयर घोषित हुनुभयो भने फ्युजन फुटबल क्लबका विशाल मगर प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्नुभयो ।उत्कृष्ट खेलाडी विशालले नगद चार हजार पाँच सय रुपियाँसहित ट्रफी प्राप्त गर्नुभयो । अन्य विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही तीन हजार रुपियाँ र ट्रफी प्राप्त गरेको आयोजकले जनाएको छ ।असोज १ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताको समापन समारोह कोशी प्रदेशका सामाजिक विकासमन्त्री गीता तिम्सिनाको प्रमुख आतिथ्यमा सम्पन्न भएको आयोजक समितिका अध्यक्ष शंकर राईले जानकारी दिनुभयो ।